प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न बाटो खुला�
राष्ट्रिय दैनिक / नवलपरासी ,२९ साउन
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले आफूविरुद्ध परेको आरोपबारे हुने अनुसन्धान तथा न्यायिक प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
अध्यक्ष यादवले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत आफूविरुद्ध सार्वजनिक जग्गा अतिक्रमण गरी सरकारी लगानीमा पोखरी निर्माण गरेको तथा सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा प्रहरीमा उजुरी परेको र सोही विषयमा नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको जानकारी सार्वजनिक भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा उनले आफूलाई न्यायिक प्रक्रियामाथि पूर्ण सम्मान र विश्वास रहेको भन्दै घटनाको सत्य, तथ्य र वास्तविकता निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्ने बताएका छन्। निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकार प्रमुखको नाताले अनुसन्धान र छानबिनमा पूर्ण सहयोग गर्ने उनको भनाइ छ।
उनले अनुसन्धान तथा छानबिनमा संलग्न सम्पूर्ण निकायलाई आवश्यक सहयोग गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत स्पष्ट पारेका छन्।
अध्यक्ष यादवले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका समाचार, टिप्पणी वा धारणाका आधारमा कुनै निष्कर्षमा नपुग्न आग्रह गर्दै निष्पक्ष अनुसन्धानबाट सत्य–तथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।
यसअघि सरकारी छाप तथा लेटरप्याड दुरुपयोग लगायतका आरोपमा यादवविरुद्ध नवलपरासी जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो। उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि यादवलाई पक्राउ गर्न प्रहरीका लागि कानुनी बाटो खुलेको छ।

यादवले विज्ञप्तिको अन्त्यमा सत्य र न्यायको पक्षमा अघि बढ्ने प्रक्रियामा आफूलाई प्राप्त हुँदै आएको साथ, सहयोग, विश्वास र सद्भाव आगामी दिनमा समेत निरन्तर रहने अपेक्षा गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

