राजन कुमार बानियाँ /पर्सा, २९ साउन
पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा सम्पन्न भएको छ। भिस्वास्थित रिद्धि सिद्धि पार्टी प्यालेसको सभाहलमा आयोजित गाउँसभाको गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।
गाउँसभामा अध्यक्ष गुप्ताले आर्थिक वर्ष २०८३/०८४ का लागि ३५ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्। गाउँसभाले गाउँपालिकाका पाँचवटै वडाका विभिन्न योजना तथा कार्यक्रमसमेत पारित गरेको छ।
प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, विपद् व्यवस्थापन, युवा रोजगारी, भौतिक पूर्वाधार तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको अध्यक्ष गुप्ताले बताए।
बजेटका लागि नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १३ करोड ६५ लाख रुपैयाँ, वित्तीय समानीकरणतर्फ १० करोड ४५ लाख ५४ हजार रुपैयाँ, राजस्व बाँडफाँटतर्फ ९ करोड ११ लाख ३८ हजार रुपैयाँ, आन्तरिक आयतर्फ २ करोड १ लाख ८ हजार रुपैयाँ तथा अनुदानतर्फ ७५ लाख रुपैयाँसमेत समेटिएको जनाइएको छ।
अध्यक्ष गुप्ताले गाउँपालिकामा विकास निर्माणका काम अघि बढाउँदा विभिन्न कानुनी तथा राजनीतिक चुनौती सामना गर्नुपरेको दाबी गरे। विकासका काममा अवरोध सिर्जना गर्न आफूविरुद्ध मुद्दा हाल्ने गरिएको आरोप लगाउँदै उनले सत्यको अन्ततः जित हुने बताए।
उनले प्रदेश सरकारबाट छिपहरमाई गाउँपालिकामा अपेक्षाअनुसार विकासका काम हुन नसकेको गुनासोसमेत गरे। संघीय सरकारले लागू गरेका विभिन्न नीति तथा नियमका कारण स्थानीय तह र जनसमुदायले काम गर्दा केही समस्या भोग्नुपरेको उनको भनाइ थियो।
गाउँपालिकाको विकासमा स्थानीय बासिन्दा, जनप्रतिनिधि र कर्मचारीको सहयोग महत्वपूर्ण रहेको भन्दै अध्यक्ष गुप्ताले सबैप्रति आभार व्यक्त गरे। आगामी दिनमा पनि सबैको निरन्तर सहयोग रहे छिपहरमाईलाई देशकै नमुना गाउँपालिकाका रूपमा स्थापित गरिने उनले बताए।
अध्यक्ष गुप्ताका अनुसार छिपहरमाई गाउँपालिका नेपालका त्यस्ता स्थानीय तहमध्ये एक हो, जहाँ प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन्। विगतमा बर्थिङ सेन्टरको अभावमा स्थानीय महिलाहरू प्रसूति सेवाका लागि भारत तथा वीरगञ्जका अस्पताल पुग्नुपर्ने अवस्था रहेको र समयमा स्वास्थ्य संस्था पुग्न नसक्दा अकालमै ज्यान गुमाउने अवस्था समेत रहेको उनले बताए।
गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएपछि स्थानीय महिलालाई प्रसूति सेवा लिन सहज भएको उनको भनाइ छ। गाउँपालिकामा प्राविधिक शिक्षा सञ्चालन भइरहेको तथा विद्यालय तहमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए।
यस्तै, गाउँपालिकामा १० शय्याको अस्पताल निर्माणको काम अघि बढाइएको र स्वास्थ्य संस्थामा एमबीबीएस चिकित्सकको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष लिलावतीदेवी कानु, प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साह, समाजसेवी पहलाद गुप्ता, किशोरी साह कानु, वडाध्यक्षहरू कामेश्वर यादव, महेन्द्र साह कलवार, दीपेन्द्रकुमार सिंह, रामेश्वरप्रसाद महतो र मौजीलाल साह कानुलगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवारलगायत जनप्रतिनिधि तथा गाउँपालिकाका महिला–पुरुष सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य संयोजक शम्भुप्रसाद साह, शिक्षा प्रमुख मुकेश चौरसिया, आईटी अफिसर सञ्जीव यादव, कृषि शाखाका भुलनप्रसाद, सञ्चारकर्मी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिसमेत सहभागी थिए।
गाउँसभा गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन मेघराज साह रौनियारले गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

