Rashtriya Dainik

सुस्ता जोगाउन सुरक्षाकर्मी र स्थानीय एकजुट, नारायणीको कटान रोक्न रातदिन प्रयास

आरपि उपाध्याय/ नवलपरासी ,२४ साउन

पश्चिम नवलपरासी नारायणी नदी पारीको सुस्ता भूमिलाई नदीले कटान गर्न थालेपछि नागरिकहरुमा त्रास बढ्न थालेको छ।

सुस्ता गा.पा. ५ नदी पारीको सुस्ता स्थित थारु टोलदेखी उत्तरतर्फ नदीको वेगले तटबन्ध भत्काउनुको साथै नदीको बहाव थारु टोल तर्फ बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको जनशक्तिलाई परिचालन गरी बोरामा माटो,गिट्टी भरी तटबन्ध कार्यलाई अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो।

सुस्ता थारु टोलदेखी उत्तरतर्फको बाध नदीले कटान गरेपछि सयौंको सङ्ख्यामा सुरक्षाकर्मी र सुस्ताका स्थानीयहरुले तटबन्ध गर्ने काम बढाएका छन भने जालीमा ढुङ्गा भरेर नदी नियन्त्रण कार्यलाई तीव्रता दिइएको जानकारीमा आएको छ।

कटान क्षेत्रमा नेपाली सेना,सशस्त्र प्रहरी बल,जिल्ला प्रहरी कार्यालयका जिल्ला कमान्डरहरुले दिनरात तटबन्धलाई प्रभावकारी गर्ने निर्देशन दिएको बताइएको छ।
सुस्तामा नदी कटान कार्य बढेपछि शनिबार पश्चिम नवलपरासीका प्रतिनिधि सभा सदस्य बिक्रम खनाल समेतको टोलि कटान स्थानमा पुगि नदी नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन रुपमा नियन्त्रण गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिएको र तत्काल नियन्त्रण कार्यलाई थप प्रभावकारी गरिने जानकारी दिनुभयो।

नदी पारी सुस्ता भूमिको रक्षाका लागि स्थानीय सुस्ता बासीहरुले सुस्ता भूमिको रक्षार्थ तीनै तहका सरकार समक्ष तत्काल ठोस निर्णय गर्न आफ्नो प्रतिनिधि मार्फत गुहार मागिरहेका छन।

सुस्ताको उत्तरतर्फ विवादित भूमि मानिएको भूभागबाट नदी पसेर सुस्ता भूमि कटान गर्न थालेपछि नदीले ४९ वर्ष पुरानो ठाउँतर्फ सोझिने हो कि भन्ने अनुमान पनि गर्न थालिएको छ।
नदीको कटान रोक्न दिनरात तटबन्ध निर्माण कार्य चलिरहेको अवस्थामा सुस्ता गाउँपालिकाको पहलमा सय थान तार जाली र ३ हजार थान बोरा प्रदेश सिचाइँ कार्यालयले उपलब्ध गराउने सहमति भएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले जानकारी दिनुभयो।

सुस्तामा नारायणी नदीले कटान गर्न थालेपछि कटान क्षेत्रको अवस्था बुझ्न आइतबार अपराह्न लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतरारायण आचार्य सुस्ता पुगि नदी कटानको अवलोकन र निरीक्षण गर्नुभयो।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारबाट नदी नियन्त्रणको लागि हुन सक्ने सबै सहयोग तटबन्धका निमित्त सहयोग दिने आश्वासन दिनुभएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित