Rashtriya Dainik

सरावल अध्यक्ष सुखाडी प्र.चौधरीको पहलमा १० वर्षदेखि सिक्रीमा बाँधिएका ओमप्रकाशको उद्धार

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ फुलवरियाका ३५ वर्षीय ओमप्रकाश राजभरलाई करिब एक दशकपछि घरमै बाँधिएको सिक्रीबाट मुक्त गरी मानव सेवा आश्रममा लगिएको छ।

भरत राजभरका छोरा ओमप्रकाश विगत १० वर्षदेखि हातखुट्टामा सिक्री बाँधिएको अवस्थामा घरमै बस्दै आएका थिए। मानसिक स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई नियन्त्रणमा राख्न सिक्री लगाउने गरेको थियो।

परिवारका अनुसार करिब १० वर्षअघि ओमप्रकाश रोजगारीका लागि विदेशमा रहेका बेला उनकी श्रीमतीले छोरीलाई जन्म दिएर अर्कैसँग विवाह गरी गएपछि उनी तनावमा परेका थिए। विदेशबाट घर फर्किएपछि उनको मानसिक अवस्था बिग्रिँदै गएको परिवारको भनाइ छ।

आर्थिक अवस्था कमजोर रहेका कारण परिवारले उनको आवश्यक औषधि उपचार गराउन सकेको थिएन। घरको दैनिक गुजारा चलाउनसमेत वृद्ध बुवा भरत राजभरले मजदुरी गर्नुपर्ने अवस्था रहेको बताइएको छ। उपचार र उचित हेरचाहको अभावमा ओमप्रकाशको अवस्था थप जटिल बन्दै गएपछि उनलाई वर्षौंदेखि घरमै सिक्रीमा बाँधेर राखिएको थियो।

ओमप्रकाशको अवस्थाबारे सरावल गाउँपालिका–५ का वडा अध्यक्ष लक्ष्मण चौधरीमार्फत जानकारी पाएपछि गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले उद्धारका लागि पहल गर्नुभएको हो। अध्यक्ष चौधरी स्वयं उपस्थित भई गाउँपालिकाको एम्बुलेन्समार्फत ओमप्रकाशलाई मानव सेवा आश्रम, तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनी, रुपन्देही पुर्‍याइएको हो।
उद्धारका क्रममा मानव सेवा आश्रमका नवलपरासी सम्पर्क व्यक्ति सुरज केसीसमेत उपस्थित हुनुहुन्थ्यो।

दश वर्षसम्म घरभित्रै सिक्रीमा बाँधिएर जीवन बिताउन बाध्य ओमप्रकाशलाई अब मानव सेवा आश्रममा आवश्यक संरक्षण, हेरचाह तथा उपचारको व्यवस्था गरिने भएको छ।

परिवारको आर्थिक विपन्नता र उपचारको अभावमा वर्षौंसम्म असहाय जीवन बिताएका ओमप्रकाशको उद्धारले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार, संरक्षण र पुनःस्थापनामा स्थानीय तह तथा समुदायको भूमिका महत्वपूर्ण हुने सन्देशसमेत दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित