तुलसीराम पौडेल
रुपन्देही, साउन १६
रुपन्देही स्थित सियारी गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम बिहिवार गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिकाले गत आर्थिक वर्षमा गरेका प्रगति, उपलब्धि र आगामी योजनाको विस्तृत समीक्षा गरिएको थियो। समीक्षा कार्यक्रममा गाउँपालिका कार्यालयका प्रत्येक शाखाका प्रमुखले आफ्नो शाखा अन्तर्गत वर्षभरि गरिएका कार्य अभिलेख र प्रगतिको बारेमा प्रस्तुत गरेका थिए । त्यस्तै गाउँपालिकाका सम्पूर्ण वडा सचिवहरुले पनि आफ्नो वडाका गतिविधिहरु प्रस्तुत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाको वार्षिक गतिविधि र लेखा अधिकृत पिताम्बर मरासिनीले आर्थिक गतिविधिको प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख रोमालाल पुरीले गरेका थिए ।
प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा चालू खर्चतर्फ ८८.४३% र पुँजीगत खर्चतर्फ ७२.१९% खर्च भएको छ। यसरी कुल ८२.०६% खर्चका साथ सियारी गाउँपालिका रुपन्देहीकै अन्य पालिकाको तुलनामा खर्च कार्यान्वयनमा अग्रस्थानमा रहेको छ।
यसैगरी आर्थिक वर्ष ०८२/८३ मा गाउँपालिकाले वार्षिक लक्ष्यको तुलनामा १ करोड ८७ लाख ३९ हजार ९ सय ७ रुपैयाँ अर्थात २५.६७% बढी आन्तरिक आय संकलन गर्न सफल भएको छ। विगतको वर्षको तुलनामा आन्तरिक आयमा भएको यो वृद्धिले गाउँपालिकाको वित्तीय सुशासन प्रभावकारी बनेको देखाउँछ।

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, तोकिएको समयमा कार्ययोजना सहित कार्य सम्पादन गर्न र कर्मचारीलाई जवाफदेही र जिम्मेवार बनाउन गाउँपालिकाले कार्य सम्पादन करार सम्झौता गरेको छ।
गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरे र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेबीच गाउँपालिकाको समग्र कार्य सम्पादनको सम्झौता भएको छ भने प्रमुख प्रशासकीय अधिकृतसँग विभिन्न शाखा प्रमुख तथा वडा सचिवहरुले कार्य सम्पादन करार सम्झौता गर्नुभएको छ। सम्झौता अनुसार शाखा प्रमुखले कार्य सम्पादन करार र कार्य योजनाको प्रगति प्रतिवेदन प्रत्येक ३/३ महिनामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ। सोही बमोजिम कार्य सम्पादनको मूल्याङ्कन र प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएको छ।
सियारी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेको छ। गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक लागू गरेको छ भने गाउँपालिकाको १० वर्षे शिक्षा नीति समेत तर्जुमा गरेको छ। स्वास्थ्यतर्फ घरघरमा स्वास्थ्य सेवा, निशुल्क एम्बुलेन्स सेवा, मोतियाबिन्दुको निशुल्क अप्रेशन, बिरामीको लागि निशुल्क रगत, विपन्न नागरिकको लागि निशुल्क स्वास्थ्य बिमा र ग वर्गका अपाङ्गता भएका नागरिकको लागि भत्ता व्यवस्था गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि पेन्सन योजना र साइकल वितरणको व्यवस्था पनि मिलाइएको छ।
कृषिमा किसानहरुलाई १ करोड भन्दा बढीको प्रविधि हस्तान्तरण र उत्पादनमा १ करोड १० लाख रुपैयाँ अनुदान दिइएको छ। सिंचाई योजनाहरुमा ७५% सम्म विद्युत महशुल अनुदानको व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउन विद्युतिय हाजिरी प्रणाली र प्रविधिको प्रयोग बढाइएको छ। नागरिकको गुनासो र सुझाव लिन नागरिक सन्तुष्टि सर्भेक्षण कार्यक्रम संचालन गरिएको छ भने एकीकृत घुम्ति सेवा पनि नियमित संचालनमा ल्याइएको छ। फोहर मैला प्रशोधन केन्द्र स्थापनाको लागि उद्योग दर्ता गरिएको छ भने साझेदारीमा दमकल सेवा पनि संचालनमा ल्याइएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले जनताको आवश्यकता र भावना अनुरुप राष्ट्रसेवक कर्मचारीले सक्रियतापूर्वक आफ्नो भूमिका निभाउनुपर्ने बताउनुभयो। उहाँले जनप्रतिनिधिको कार्यकाल सफल वा असफल बनाउने कुरा कर्मचारीको हातमा रहेकोले जनताको काममा ढिला सुस्ती नगर्न सबैलाई कडा निर्देशन दिए ।
अध्यक्ष घिमिरेले सियारीलाई समृद्ध र आत्मनिर्भर बनाउन सबै कर्मचारी र जनप्रतिनिधि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

