Rashtriya Dainik

तीन दिनको विद्युत संकटपछि सांसद हरि पन्तको हस्तक्षेप, ९ बजेसम्म आपूर्ति पूर्ण रूपमा सुचारु हुने

बिरगञ्ज, १ साउन ।

बिरगञ्ज महानगरमा तीन दिनदेखि अनियमित बनेको विद्युत आपूर्तिका कारण जनजीवन प्रभावित भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति तथा सांसद हरि पन्तले तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

विद्युत आपूर्ति अवरुद्ध भएपछि काठमाडौंमै रहेका सांसद पन्तले नेपाल विद्युत प्राधिकरण र बिरगञ्ज महानगरपालिकासँग निरन्तर टेलिफोन सम्पर्क गरी विद्युत तथा खानेपानी आपूर्ति सहज बनाउन समन्वय गरिरहेका थिए।

मंगलबार राति बिरगञ्ज पुगेका सांसद पन्तले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा नेपाल विद्युत प्राधिकरण पर्सा वितरण केन्द्रका प्रमुख विजय महतोलाई बोलाई विद्युत आपूर्तिमा देखिएको समस्याबारे गम्भीर चासो व्यक्त गरेका हुन्। उनले तत्काल विद्युत सेवा नियमित गर्न तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका थिए।

सांसद पन्तको जिज्ञासाको जवाफ दिँदै प्राधिकरण प्रमुख महतोले पर्सौनी ग्रिडबाट ३३ केभी लाइन छपकैया सबस्टेसनसम्म विस्तार गर्ने क्रममा गत माघ महिनामा अमर (बोखार) चोक आसपासका केही स्थानीयको अवरोधका कारण काम अधुरो रहेकाले अहिले समस्या उत्पन्न भएको बताए।
उनका अनुसार बुधबार उक्त अवरोध हटाएर तार तान्ने काम अघि बढाइएको छ भने बाँकी काम सम्पन्न भएपछि आज राति ९ बजेसम्म बिरगञ्जमा विद्युत आपूर्ति पूर्ण रूपमा सुचारु हुने विश्वास दिलाइएको छ।

लामो समयसम्म विद्युत आपूर्ति अवरुद्ध हुँदा खानेपानी वितरण, व्यापार–व्यवसाय तथा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको थियो। अब बाँकी प्राविधिक काम सम्पन्न भएसँगै विद्युत सेवा नियमित हुने प्राधिकरणको दाबी छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित