Rashtriya Dainik

सरावल अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षकै वडामा हिलोको राज, मंगलापुर–बडहरा सडक बेहाल

राष्ट्रिय दैनिक / नवलपरासी ,१ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ को मंगलापुरदेखि बडहरा जोड्ने करिब ३०० मिटर सडक चार वर्षदेखि निर्माण हुन नसक्दा स्थानीयवासी हरेक वर्ष वर्षायाममा हिलोसँग जुध्न बाध्य भएका छन्।

सरावल गाउँपालिका–४ र ५ जोड्ने उक्त सडक वडा नं. ५ तर्फको भाग २०७९ सालमै कालोपत्रे भए पनि वडा नं. ४ को सिमानाभित्र पर्ने करिब ३०० मिटर खण्ड अझै अलपत्र छ। परिणामस्वरूप स्थानीयले दैनिक आवतजावतमा सास्ती खेपिरहेका छन्।

विडम्बना त के छ भने, यही वडा नम्बर ४ बाट गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमति हरिजन तथा गाउँपालिका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष सुरेश यादव निर्वाचित भए पनि आफ्नै क्षेत्रको यो अत्यावश्यक सडकप्रति प्रभावकारी चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन्।
मंगलापुर निवासी भरत कोइरी भन्छन्, “मान्छे नै नहिँड्ने ठाउँमा नयाँ सडक र कृषि सडक बनाउन बजेट छ, तर दैनिक सयौं मानिस हिँड्ने यो बाटो कालोपत्रे गर्न पैसा छैन। वर्षातमा हिलो छिचोल्दै हिँड्नुपर्ने बाध्यता छ।”

स्थानीय जन्मेजय यादवका अनुसार उक्त सडक वडा कार्यालय जोड्ने मुख्य मार्गसमेत हो। पटक–पटक जनप्रतिनिधिलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनको आरोप छ।

स्थानीयवासीले विकासका ठूला–ठूला योजना सार्वजनिक गर्नेभन्दा पहिले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यो सडक निर्माण गर्न गाउँपालिकासँग माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित