Rashtriya Dainik

धोबिनी–४ लङ्गडीमा करोडौंको स्वास्थ्य चौकी, पुग्ने बाटो भने हिलोमै अलपत्र!

राजन कुमार बानिया /पर्सा ,१ साउन

पर्साको धोबिनी गाउँपालिका–४ लङ्गडीमा करोडौं रुपैयाँको लागतमा निर्माण गरिएको स्वास्थ्य चौकी सञ्चालनमा आए पनि त्यहाँसम्म पुग्ने पहुँच मार्गको अभावले स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
वर्षायाम सुरु भएसँगै स्वास्थ्य चौकी जोड्ने सडक हिलाम्मे र जलमग्न हुने भएकाले बिरामी, गर्भवती महिला तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीसम्म पुर्‍याउन कठिन हुने गरेको स्थानीय प्रदीप पटेलले बताए।
स्थानीयका अनुसार स्वास्थ्य चौकी निर्माणपछि गाउँमै सहज स्वास्थ्य सेवा पाइने अपेक्षा गरिए पनि सडकको दुरवस्थाले सेवा प्रभावकारी रूपमा उपयोग हुन सकेको छैन। एम्बुलेन्स गाउँभित्र सहज रूपमा प्रवेश गर्न नसक्दा बिरामीलाई बोकेर मुख्य सडकसम्म ल्याउनुपर्ने र त्यसपछि पोखरिया वा वीरगञ्जका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।
हरेक वर्ष वर्षायाममा सडकमा बाक्लो हिलो जम्ने, पानी निकासको उचित व्यवस्था नहुँदा सवारीसाधन फस्ने र आवतजावत नै प्रभावित हुने समस्या दोहोरिने गरेको स्थानीयले गुनासो गरेका छन्। यसले स्वास्थ्य सेवा मात्र होइन, विद्यालय जाने विद्यार्थी, किसान तथा सर्वसाधारणको दैनिक जनजीवनसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार करोडौं रुपैयाँ खर्चेर आधुनिक स्वास्थ्य चौकी निर्माण गरिए पनि पहुँच मार्गको स्तरोन्नति नगरिएकाले स्वास्थ्य चौकीको उद्देश्य नै ओझेलमा परेको छ।

“स्वास्थ्य चौकी त बन्यो, तर त्यहाँ पुग्ने बाटो नै छैन। सडक राम्रो नहुँदा गाउँकै स्वास्थ्य चौकीभन्दा बाहिरको अस्पतालमा जानुपर्ने अवस्था विडम्बनापूर्ण छ,” एक स्थानीयले गुनासो गरे।
स्थानीयले गाउँपालिका, प्रदेश सरकार तथा सम्बन्धित निकायसँग स्वास्थ्य चौकीसम्म पुग्ने सडक तत्काल निर्माण तथा स्तरोन्नति गर्न माग गरेका छन्। कम्तीमा ग्राभेल वा कालोपत्रे सडक निर्माण गरी वर्षभर सहज आवतजावतको व्यवस्था मिलाउनुपर्ने उनीहरूको जोड छ।

स्थानीयको भनाइमा, स्वास्थ्य चौकी निर्माणमा गरिएको करोडौंको लगानी त्यतिबेला मात्र सार्थक हुनेछ, जब नागरिकले वर्षैभरि सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने पहुँच सुनिश्चित हुनेछ। त्यसैले लङ्गडी स्वास्थ्य चौकीलाई साँच्चिकै नमूना स्वास्थ्य संस्था बनाउन पहुँच मार्गको तत्काल निर्माण अपरिहार्य रहेको उनीहरूको माग छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित