Rashtriya Dainik

भैरहवा र नवलपरासी प्रहरीको संयुक्त टोलीद्वारा दुई जना लागूऔषधसहित पक्राउ

बिनोद निगम/नवलपरासी ३१ असार

पश्चिम नवलपरासीमा ठूलो परिमाणमा लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासी को संयुक्त टोलीले सरावल गाउँपालिका-३ कोठिलाहा क्षेत्रबाट ६०० एम्पुल लागूऔषध बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाका अनुसार मङ्गलबार ३० गते दिउँसो करिब ३:३० बजे सरावल गाउँपालिका-३ कुठिलाहा क्षेत्रमा ठूलो परिमाणमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सूचनापछि लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले उक्त क्षेत्रमा निगरानी बढाउँदै विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो।

चेकजाँचका क्रममा सरावल गाउँपालिकाको भीमटाडीबाट सरावलतर्फ आउने ग्राभेल सडकखण्डमा सरावलबाट भीमटाडीतर्फ जाँदै गरेको युपी ५७ ए एस ३२३५ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकललाई शंकाको आधारमा रोकी खानतलासी गरिएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक सरावल गाउँपालिका-४ निवासी २० वर्षीय रमेश हरिजन र पछाडि सवार सोही गाउँपालिका–५ निवासी १८ वर्षीय रामप्रसाद हरिजन रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको दाहिनेतर्फको लेगगार्डमा झुन्ड्याइएको बोराभित्र प्लास्टिकले बेरेर लुकाइराखिएको अवस्थामा डाइजेपाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र बुप्रिनोर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागूऔषध फेला परेको थियो।

प्रहरीले बरामद गरिएको लागूऔषध तथा मोटरसाइकललाई नियन्त्रणमा लिई दुवै जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। आज बुधबार ३१ गते जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा लागूऔषधको ओसारपसार तथा अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ। यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय नवलपरासी का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित