राजन कुमार बानिया
पर्सा ३१ असार
धोबिनी गाउँपालिका–३ का समाजसेवी तथा शिक्षाप्रेमी दीपक कुमार पटेलले आफ्नो गाउँस्थित दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै उत्कृष्ट छात्रालाई साइकल प्रदान गरेका छन्।
श्री शम्भु प्रसाद आधारभूत विद्यालय, हरिहरपुर उत्तरटोल र श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, हरिहरपुर मा आयोजित कार्यक्रममा वार्षिक परीक्षा अन्तर्गत कक्षा ४ उत्तीर्ण गरी प्रथम स्थान हासिल गर्ने एक–एक जना छात्रालाई प्रोत्साहनस्वरूप एक–एक थान साइकल वितरण गरिएको हो। साथै, दुवै विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत सम्पूर्ण छात्र–छात्रालाई एक–एक थान कापी र कलम पनि वितरण गरिएको थियो।
समाजसेवी तथा शिक्षाप्रेमी दीपक कुमार पटेलले छात्राहरूको मनोबल उच्च बनाउने, शिक्षाप्रति रुचि अभिवृद्धि गर्ने तथा विद्यालयमा नियमित अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले उक्त सहयोग गरेको बताएका छन्। स्थानीयवासीले पनि यस्तो अभियानले विद्यार्थीलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा विद्यालयका जग्गादाता शम्भु प्रसाद कुर्मी, प्रधानाध्यापक सोनालाल प्रसाद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबालक राउत कुर्मी, समाजसेवी तथा शिक्षाप्रेमी हरगुन राउत कुर्मी, गरिब मजदुर किसान उत्थान युवा समाजका अध्यक्ष सलमान अहमद, समाजसेवी सुशील गिरी, अजय कुमार पटेल, शिक्षाप्रेमी तथा समाजसेवी उपेन्द्र प्रसाद कुर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

