Rashtriya Dainik

गणेश नेपालीको शव बुझ्न दबाब परेको दाबी,बुबाले गरे घाँटी न्याकेर आत्महत्याको प्रयास

काठमाडौं,२७ असार । बिहीबार आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका बुबाले शनिबार आत्महत्याको प्रयास गरेका छन्।

परिवारका अनुसार सरकार पक्षले गणेशको शव बुझ्न दबाब दिएको भन्दै शोकमा रहेका उनका बुबाले आफ्नै घाँटी न्याकेर आत्महत्याको प्रयास गरेका हुन्। घटनास्थलमा रहेका आफन्तले तत्काल सम्झाएर उनलाई त्यसो गर्नबाट रोकेका थिए।

गणेशका परिवार र सरकार पक्षबीच शुक्रबारदेखि शनिबारसम्म पटक–पटक वार्ता भए पनि सहमति जुट्न नसकेको जेनजी अभियन्ता सुप्रिया शाहीले जानकारी दिए।

उनका अनुसार हाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा गणेशका बुबा, आमा र दाजुसहित परिवारका सदस्य तथा सरकार पक्षबीच छलफल भइरहेको छ।

‘गणेशको परिवारलाई सिडिओ कार्यालयभित्र वार्ताका लागि लगिएको छ। अहिले अन्य व्यक्तिलाई प्रवेश गर्न दिइएको छैन। वार्तामा सहमति हुन्छ वा हुँदैन भन्नेबारे केहीबेरमा जानकारी आउँछ,’ शाहीले भनिन् ।

गणेशको शव शुक्रबार राति शिक्षण अस्पताल (टिचिङ) मा लगेर राखिएको छ। पठाओ चलाएर जीविकोपार्जन गर्दै आएका गणेशको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका प्रहरीले ‘ह्विल लक’ लगाएपछि उनले बिहीबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान करिब ११:१९ बजे निधन भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित