Rashtriya Dainik

कृष्णनगरमा १२ शिक्षकको सरुवा विरुद्ध विद्यार्थी आन्दोलन,२ घण्टा राजमार्ग अवरुद्ध

बिनोद निगम/१० असार

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवनगरस्थित श्री देवी विद्यापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयका १२ जना शिक्षकको एकैपटक सरुवा गरिएको विरोधमा बुधबार आन्दोलन गरेका छन्। आन्दोलनका क्रममा विद्यार्थीहरूले बुधबार बिहान करिब ९ बजेदेखि करिब दुई घण्टासम्म राजमार्ग अवरुद्ध गरेका थिए।

विद्यार्थीहरूको अनुसार विद्यालयमा लामो समयदेखि अध्यापन गरिरहेका अनुभवी तथा योग्य शिक्षकहरूको सरुवा भएपछि पठनपाठनको गुणस्तरमा प्रत्यक्ष असर परेको छ। सरुवा भएर आएका नयाँ शिक्षकहरूले अपेक्षाअनुसार प्रभावकारी रूपमा पढाउन नसकेको गुनासो विद्यार्थीहरूले गरेका छन्।

आन्दोलनरत विद्यार्थीहरूले शिक्षक सरुवाको निर्णयले विद्यालयको शैक्षिक वातावरण नै प्रभावित भएको बताएका छन्। उनीहरूका अनुसार सरुवापछि नियमित कक्षा सञ्चालन तथा अध्ययन–अध्यापनमा विभिन्न समस्या देखिन थालेका छन्। यस विषयमा सम्बन्धित निकाय, विद्यालय प्रशासन तथा कृष्णनगर नगरपालिकाको ध्यानाकर्षण गराउँदै आए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।

विद्यार्थीहरूले योग्य र अनुभवी शिक्षकहरूलाई पुनः विद्यालयमा फर्काउन तथा शैक्षिक वातावरणलाई सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। आन्दोलनका कारण केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो।

स्थानीय प्रशासन र सरोकारवाला निकायको पहलपछि विद्यार्थीहरूले सडक अवरोध हटाएका थिए। शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थी, अभिभावक तथा स्थानीयवासीबीच समेत चासो बढेको छ। उनीहरूले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न आवश्यक पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित