Rashtriya Dainik

लागू पदार्थ सेवन गरी सवारी चलाउने ५ चालक प्रहरी नियन्त्रणमा

बिनोद निगम/ नवलपरासी , १० असार

पश्चिम नवलपरासीमा लागू पदार्थ सेवन (ला.प.से.) तथा मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी चलाउने चालकहरूको नियन्त्रणका लागि प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार बिहान करिब ८ बजे रामग्राम नगरपालिका–५ स्थित बाइपास क्षेत्रको भैरहवा–परासी सडकखण्डमा संयुक्त चेकजाँच अभियान सञ्चालन गरेको थियो।

चेकजाँचका क्रममा ३० वटा सवारी साधनको परीक्षण गरिएकोमा ५ जना चालक लागू पदार्थ सेवन गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। परीक्षणमा उनीहरूमा लागू पदार्थ सेवन गरेको पुष्टि भएपछि पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।

प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षा सुदृढीकरण तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको हो। प्रहरीले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा यस्ता चेकजाँचलाई निरन्तरता दिइने जनाएको छ।

प्रहरीले लागू पदार्थ वा मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबै चालकलाई आग्रह गरेको छ। यस्तो कार्यले दुर्घटनाको जोखिम बढाउने भएकाले कानुनी कारबाहीसमेत हुने चेतावनी प्रहरीले दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित