तुलसीराम पौडेल /लुम्बिनी ,असार १०
रुपन्देही स्थित लुम्बिनी साँस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ७८ लाख ७३ हजार रुपैयाँ बराबरको प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाको १७ औं बजेट नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक श्री कल्पना हरिजनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। नगरसभामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
नगर कार्यबाहक प्रमुख हरिजनले नेपालको संविधान, संघीय नीति, दिगो विकासका लक्ष्य, स्थानीय आवश्यकता तथा नगरको प्राथमिकतालाई आधार बनाएर बजेट तयार गरिएको बताउनुभयो ।
प्रस्तावित बजेट अनुसार संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त अनुदान तथा विभिन्न विकास साझेदार संस्थाबाट प्राप्त हुने रकमसहित नगरपालिकाको कुल आय १ अर्ब ७५ करोड ७८ लाख ७३ हजार रुपैयाँ अनुमान गरिएको छ ।
नगरपालिकाले आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ४ करोड ६० लाख, नगर विकास कोषबाट १३ करोड २० लाख, बैंक मौज्दातबाट ३ करोड, संघीय तथा प्रदेश समपूरक अनुदानसहित अन्य शीर्षकबाट बजेट व्यवस्थापन गर्ने जनाएको छ ।
बजेटमा नगरपालिकाको प्रशासनिक भवन, बसपार्क तथा पहुँच मार्ग निर्माणलाई विशेष प्राथमिकता दिइएको छ । एसियाली विकास बैंक, नगर विकास कोष र नगरपालिकाको साझेदारीमा सञ्चालन हुने उक्त योजनाका लागि ७३ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै मोग्लाहा–मोहसड हुँदै सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क जाने सडक निर्माणका लागि २ करोड ८६ लाख, वृहत्तर लुम्बिनी क्षेत्र विकास कार्यक्रमका लागि ९ करोड रुपैयाँ छुट्याइएको छ ।
वडा नं. ६ स्थित लुम्बिनी रोड–सुजन्डिहवा हुँदै मोग्लाहा जोड्ने तथा कपिलवस्तु रोड हुँदै नगर अस्पताल जाने सडक निर्माणका लागि १ करोड ४० लाख र हुलाकी सडकदेखि अमारी शिवलवा जाने सडक कालोपत्रेका लागि २ करोड ४० लाख रुपैयाँ बजेट राखिएको छ ।
सामाजिक विकासतर्फ सु–कन्या बीमा धन योजनाका लागि ८० लाख, मर्मत सम्भार कोषका लागि १५ लाख र मेयर ब्लड कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै मधुवनी माध्यमिक विद्यालय वडा नं. १० मा भवन निर्माणका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।
नगरसभामा गाउँ सभा सदस्य तथा नगर प्रवक्ता इनामुल्लाह फकिरले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममा “गुणस्तरीय र अनिवार्य शिक्षा, समृद्ध लुम्बिनी हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै शिक्षा क्षेत्र सुधारलाई विशेष प्राथमिकता दिइएको छ ।
नगरपालिकाले सामुदायिक विद्यालय सुधार मार्गचित्रलाई मुख्य आधार बनाउँदै विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्ष सुधार गर्ने नीति लिएको जनाएको छ ।
नीति कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने अभियान, सामुदायिक, मदरसा तथा संस्थागत विद्यालयको नियमन, प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता लगायतका कार्यक्रम समेटिएका छन् ।
त्यसैगरी “हाम्रो विद्यालय, राम्रो विद्यालय” कार्यक्रममार्फत विद्यालयको पूर्वाधार सुधार, विज्ञान, अंग्रेजी र गणित विषयमा सिकाइ उपलब्धि बढाउन उपचारात्मक कक्षा सञ्चालन, छात्रवृत्ति व्यवस्थापनमा पारदर्शिता तथा स्थानीय पाठ्यक्रम निर्माण गर्ने नीति अघि सारिएको छ ।
नगरपालिकाले सामुदायिक सिकाइ केन्द्रलाई सीप तथा उद्यमशीलता विकास केन्द्रका रूपमा विकास गर्ने, स्थानीय संस्कृति, पर्यटन, भाषा र सम्पदालाई समेटेर कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने योजना समेत सार्वजनिक गरेको छ ।

पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र विश्व सम्पदा क्षेत्र लुम्बिनीको समग्र विकासलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइएको नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

