Rashtriya Dainik

जापानको सहयोगमा सरावलमा २ करोड ६८ लाखको सुविधासम्पन्न विद्यालय भवन शिलान्यास

उमेश बि.क / नवलपरासी ,१० असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ स्थित जनता आधारभूत प्राथमिक विद्यालय, धनगढहवामा जापानी सहयोगमा निर्माण हुन लागेको सुविधासम्पन्न विद्यालय भवनको शिलान्यास गरिएको छ।

बालमैत्री तथा समावेशी शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले चाइल्ड फण्ड जापानको आर्थिक सहयोग तथा इन्द्रेणी सामाजिक विकास मञ्चको साझेदारीमा विद्यालय भवन निर्माण कार्य सुरु गरिएको हो।

निर्माण हुन लागेको ६ कोठे आरसीसी विद्यालय भवनको लागत भ्याट बाहेक २ करोड ६८ लाख २७ हजार रुपैयाँ रहेको छ। परियोजनाअन्तर्गत ६ वटा शौचालय र ४ वटा खानेपानी स्टेशन समेत निर्माण गरिने जनाइएको छ। निर्माण कार्य आगामी पौष २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जदुनाथ केवटकाे अध्यक्षता तथा सांसद बिक्रम खनालकाे प्रमुख आतिथ्यतामा भएको विद्यालय भवन निर्माण कार्य शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य खनालले आधुनिक तथा सुविधा सम्पन्न शैक्षिक पूर्वाधार निर्माणले विद्यार्थीको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती प्रसाद यादव (रुदल) तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले इन्द्रेणी सामाजिक विकास मञ्चले शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनीहरूले ग्रामीण क्षेत्रमा यस्ता विकास साझेदारीका कार्यक्रमले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

चाइल्ड फण्ड जापानका कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पाले संस्थाले विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, सरसफाइ तथा स्वास्थ्यका क्षेत्रमा निरन्तर काम गरिरहेको जानकारी दिए। सबै सरोकारवालाको सहकार्य, सहभागिता र प्रतिबद्धताबाट मात्रै दिगो तथा नतिजामुखी विकास सम्भव हुने उनको भनाइ थियो।

त्यसैगरी, इन्द्रेणी सामाजिक विकास मञ्चकी अध्यक्ष धनमति सापकोटाले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय शैक्षिक वातावरण आवश्यक रहेको बताउँदै विद्यालय पूर्वाधार विकासमा संस्थाले निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरिन्।

कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका परियोजना प्रबन्धक बिना चौधरीले परियोजनाबारे विस्तृत जानकारी दिँदै विद्यालय भवन, शौचालय, खानेपानी तथा अन्य आवश्यक संरचना निर्माणमार्फत बालमैत्री तथा समावेशी शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताइन्।

इन्द्रेणी सामाजिक विकास मञ्चका प्रतिनिधिहरूले नयाँ भवन निर्माणपछि विद्यार्थीहरूले सुरक्षित, व्यवस्थित र गुणस्तरीय अध्ययन वातावरण प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। परियोजनाले विद्यालयमा सरसफाइ, स्वास्थ्य तथा समावेशी शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

चाइल्ड फण्ड जापानले नवलपरासी जिल्लाका १२ वटा विद्यालयमा बालमैत्री तथा समावेशी शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यका साथ विभिन्न पूर्वाधार तथा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही परियोजनाअन्तर्गत विद्यालय भवन, शौचालय, खानेपानी तथा अन्य आवश्यक शैक्षिक संरचना निर्माणका कार्यहरू अघि बढाइएको जनाइएको छ।

विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार कहाँरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक फुलचन्द्र प्रजापतिले गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, शिक्षक तथा इन्द्रेणी सामाजिक विकास मञ्चका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालय परिवार तथा अभिभावकहरूले नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने, विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि हुने तथा गुणस्तरीय शिक्षाको पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय इन्द्रेणी सामाजिक विकास मञ्चको पहल र जापानी सहयोगले ग्रामीण शिक्षाको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित