Rashtriya Dainik

उत्कृष्ट कर्मचारी सम्मानित, पाल्हीनन्दनको ५१ करोडको बजेट सार्वजनिक

राष्ट्रिय दैनिक /नवलपरासी, ३ असार

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले २१औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड २५ लाख २ हजार रुपैयाँ बराबरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले कृषि, स्वास्थ्य, शिक्षा तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो। कृषिलाई गाउँपालिकाको आर्थिक समृद्धिको आधारका रूपमा अघि बढाउँदै उत्पादन वृद्धि तथा किसानमुखी कार्यक्रमहरू कार्यान्वयन गरिने उहाँले बताउनुभयो।
पर्यटन विकासअन्तर्गत नन्दनताल तथा पाल्हि मन्दिरको संरक्षण, प्रवर्द्धन तथा ‘भिजिट पाल्हीनन्दन’ अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

शिक्षा क्षेत्रमा ‘सिक्न र सिकाउनका लागि पढौँ’ अभियानमार्फत शैक्षिक गुणस्तर सुधार गरिनेछ भने पढाइसँगै सीप विकास कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग जोडिने गाउँपालिकाको योजना छ। साथै महिला स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै लैंगिक हिंसाबाट प्रभावित महिलाका लागि अल्पकालीन आश्रयसहित सेवा केन्द्र स्थापना गरिने भएको छ।

स्वास्थ्यतर्फ ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ अभियान, भलाकुसारी कार्यक्रम तथा बालकोष स्थापना गरिने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडका अनुसार कृषि क्षेत्रमा ‘कृषि एम्बुलेन्स’ तथा ‘पाल्हीनन्दन किसान कल सेन्टर’ सञ्चालन गरिनेछ भने खानेपानी क्षेत्रमा ‘एक घर, एक धारा’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।

यसैबीच गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५१ करोड २५ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो। बजेटमध्ये चालुतर्फ ३२ करोड २५ लाख रुपैयाँ र पुँजीगततर्फ १८ करोड ८६ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ।

उहाँका अनुसार वित्तीय समानीकरण अनुदानबाट ११ करोड २४ लाख रुपैयाँ, सशर्त अनुदानबाट २१ करोड ६ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३० लाख रुपैयाँ, विशेष अनुदानबाट १५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ९ करोड ८ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट वित्तीय अनुदानतर्फ ७८ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

गाउँसभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ। उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै लेखा अधिकृत संजय कुमार शर्मालाई नगद १ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडलाई उत्कृष्ट सेवा प्रवाह गरेबापत नगद ९५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ। विपद् व्यवस्थापन तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रदीप कुमार तिवारीलाई नगद ४० हजार रुपैयाँ, दोसल्ला तथा प्रमाणपत्रसहित सम्मान गरिएको उपाध्यक्ष अन्सारीले जानकारी दिनुभयो।

गाउँसभाले कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई आगामी आर्थिक वर्षको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित