राजन कुमार बानियाँ/पर्सा, ३ असार ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै जिल्लामै पहिलो स्थानीय तह बन्न सफल भएको छ।
गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनबाट पारित नीति, कार्यक्रम तथा बजेट बुधबार सार्वजनिक गरिएको हो।
गाउँपालिका सभा हलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष यसवन्त यादवले अधिवेशनको उद्घाटन गरेका थिए। अध्यक्ष यादवकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शर्मिला विष्ट महतोले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन्।
उपाध्यक्ष महतोका अनुसार आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले कुल ४६ करोड ३७ लाख ८२ हजार ५२० रुपैयाँ बराबरको आय–व्यय अनुमान गरेको छ।
आयतर्फ सशर्त अनुदानबाट २१ करोड १६ लाख रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ४५ लाख रुपैयाँ, विशेष अनुदानबाट ४६ लाख रुपैयाँ, आन्तरिक स्रोतबाट ५३ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ६४ लाख ६२ हजार रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ११ करोड १३ लाख २० हजार ५२० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उनले जानकारी दिइन्।
उपाध्यक्ष महतोले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै बजेट तथा कार्यक्रमको विस्तृत विवरण गाउँपालिका विकास योजनाको पुस्तिकामार्फत सार्वजनिक गरिने बताइन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादव, वडाध्यक्षहरू, गाउँसभा सदस्यहरू, लेखा शाखा प्रमुख सुमन साह तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यसअघि पर्सा जिल्लाका तीन स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेका थिए। बुधबार नै पटेर्वा सुगौली गाउँपालिकाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेको भए पनि बजेट भने सार्वजनिक गरेको छैन।
यससँगै सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्लामै आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

