अनिल बनिया/ नवलपरासी ,३ असार
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा अवैध पशु तथा पशुजन्य वस्तुको पैठारी नियन्त्रण तथा रोकथामका लागि कार्यदल परिचालनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशु सेवा विभाग, पशु क्वारेन्टाइन कार्यालय भैरहवाको आयोजनामा सम्पन्न कार्यक्रमले सीमा नाकाबाट हुने अवैध पैठारी नियन्त्रण, पशु स्वास्थ्य सुरक्षा तथा पशुजन्य संक्रामक रोगको जोखिम न्यूनीकरणका विषयमा सरोकारवाला निकायबीच छलफल र समन्वयलाई प्राथमिकता दिएको थियो।
कार्यक्रममा महेशपुर क्वारेन्टाइन चेकपोस्टका पशु स्वास्थ्य प्राविधिक ठाकुरप्रसाद खड्काले सहजीकरण गरेका थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय महेशपुरका प्रमुख प्रहरी निरीक्षक सोबराज बम, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट हरपुरका प्रतिनिधि चोलबहादुर ज्ञामी, स्थानीय व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा सहभागीहरूले खुला सीमा क्षेत्रको दुरुपयोग गर्दै हुने अवैध पशु तथा पशुजन्य वस्तुको ओसारपसार नियन्त्रणका लागि सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले संयुक्त अनुगमन, नियमित चेकजाँच, सूचनाको आदान–प्रदान तथा निगरानी प्रणालीलाई सुदृढ बनाउँदै अवैध गतिविधिविरुद्ध प्रभावकारी रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।
वक्ताहरूले अवैध पैठारीका कारण पशुजन्य संक्रामक रोग फैलिने जोखिम बढ्नुका साथै राज्यको राजस्वमा समेत क्षति पुग्ने भएकाले नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए। सीमा क्षेत्रमा पशु स्वास्थ्य सुरक्षा कायम राख्न, कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न तथा जनचेतना अभिवृद्धि गर्न सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रमले सीमा नाकाबाट हुने अवैध पैठारी नियन्त्रण, पशु स्वास्थ्य सुरक्षाको प्रवर्द्धन तथा पशुजन्य रोगको सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

