मुस्ताङ ,३ असार
हिमाली जिल्ला मुस्ताङ र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर भारतीय पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। पछिल्लो समय दैनिक करिब १० हजार भारतीय पर्यटक मुस्ताङ भित्रिने गरेको तथ्यांकले मुक्तिनाथप्रतिको आकर्षण झन् बढ्दो रहेको देखाएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको इलाका संरक्षण कार्यालय, जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मे महिनासम्म मुस्ताङ भ्रमण गर्ने कुल १ लाख ४२ हजार ७३९ विदेशी पर्यटकमध्ये १ लाख २९ हजार ३४१ जना भारतीय रहेका छन्। यो संख्या कुल विदेशी पर्यटकको करिब ९१ प्रतिशत हो।

मे महिनामा मात्रै ६५ हजार ९९४ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। तीमध्ये ६१ हजार ७९८ जना भारतीय र ४ हजार १९६ जना अन्य मुलुकका पर्यटक रहेका छन्। उक्त अवधिमा मुस्ताङ भ्रमण गर्ने विदेशीमध्ये ९४ प्रतिशत भारतीय नागरिक रहेको एक्यापले जनाएको छ।
एक्याप इलाका संरक्षण कार्यालयका प्रमुखका अनुसार भारतमा बढ्दो गर्मी र विद्यालयहरूको गर्मी बिदाका कारण मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो। नेपाल भ्रमणमा आएका भारतीय पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुग्ने गरेका छन्।
भारतीय पर्यटकको आगमन बढेसँगै मुक्तिनाथ मन्दिर परिसर, जोमसोम, कागबेनी लगायत धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढेको छ। यतिबेला मुक्तिनाथ क्षेत्रमा नेपाली तथा भारतीय भक्तजन र पर्यटकको उल्लेखनीय भीड देख्न सकिन्छ।

पर्यटकको संख्या बढेसँगै होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसाय पनि चलायमान बनेका छन्। स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको बढ्दो आगमनले मुस्ताङको पर्यटन अर्थतन्त्रलाई नयाँ ऊर्जा प्रदान गरेको छ।
मुस्ताङमा धार्मिक पर्यटनको विस्तारसँगै मुक्तिनाथ क्षेत्र दक्षिण एशियाकै महत्वपूर्ण आध्यात्मिक गन्तव्यका रूपमा थप स्थापित हुँदै गएको सरोकारवालाहरूको भनाइ छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

