अनिल बनिया/ नवलपरासी ,१ असार
पश्चिम नवलपरासी प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१३ सन्ताउन्न निवासी ३१ वर्षीय गोपी लोनिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आइतबार साँझ करिब ७ बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बर्दघाट बाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले बर्दघाट नगरपालिका–१३ क्षेत्रमा पैदल हिँडिरहेका लोनियामाथि शंका लागेपछि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनले बोकेको प्लास्टिकको झोलाबाट डायजेपाम (Diazepam) ४१५ एम्पुल, बुप्रेनोर्फिन (Buprenorphine) ४१५ एम्पुल र ब्रोमोथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन (Bromothazine Hydrochloride Injection) ४१५ एम्पुल गरी जम्मा १ हजार २ सय ४५ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित लोनियालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत नवलपरासी (परासी) बाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन थापा ले जानकारी दिए।
प्रहरीले जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै अवैध कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी र कारबाहीलाई तीव्रता दिएको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

