प्रिन्स मिश्रा /कपिलवस्तु,३१ जेठ
कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस वर्ष पनि बृहत् निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर आयोजना गरेको छ।
गत वर्षको शिविरबाट उत्साहजनक उपलब्धि हासिल भएपछि नगरपालिकाले यस वर्ष सेवाको दायरा थप फराकिलो बनाउँदै दुई दिने शिविर आजदेखि सञ्चालन गरेको हो। जेठ ३० र ३१ गते सञ्चालन हुने शिविरको उद्घाटन एक विशेष कार्यक्रमका बीच गरिएको छ।

यस वर्षको शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञ सेवाका साथै नाक, कान, घाँटी, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, मानसिक रोग तथा रेडियोलोजीलगायत बहु–विशेषज्ञ सेवाहरू समावेश गरिएको कृष्णनगर नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले सेभ द हार्ट र काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) का विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा मुटु तथा मिर्गौला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
उक्त शिविरबाट कुल १ हजार ५ सय ९५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन । शिवराज अस्पतालका प्रशासन प्रमुख डा. दुर्गेश चौधरीका अनुसार शिविरमा २ सय २६ जनाको इको तथा ३ सय २६ जनाको ईसीजी, XRay २१०, लैब ३१८ जना लगायतलाई निःशुल्क गरिएको थियो। तीमध्ये २५ जनालाई थप उपचारका लागि काठमाडौंका विशेषज्ञ अस्पतालहरूमा रिफर गरिएको थियो।

विगतको सफल अनुभव र नागरिकको बढ्दो मागलाई मध्यनजर गर्दै यस वर्ष शिविरमा थप विशेषज्ञ सेवाहरू समावेश गरिएको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए। उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो। समयमै रोगको पहिचान र उपचार हुन सकोस् भन्ने उद्देश्यले यसपटक थप विधाका विशेषज्ञ चिकित्सकहरूलाई सहभागी गराएका छौँ। सम्पूर्ण नगरवासी तथा आसपासका क्षेत्रका नागरिकहरूलाई शिविरमा सहभागी भई यस निःशुल्क सेवाको भरपूर लाभ लिन हार्दिक अपिल गर्दछु।” देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टर र शिवराज अस्पतालबीच सञ्चालन हुँदै आएको साप्ताहिक स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८३/८४ का लागि समेत समझौता भएको छ। साथै शिविरमा पहिचान भई थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई राहतसहित उपचार उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग पनि सहकार्य गरिएको अस्पतालका प्रशासन प्रमुख डॉ दुर्गेशले जनाएका छन ।

विशेषज्ञ स्वास्थ्य सेवाका लागि बुटवल वा काठमाडौं धाउनुपर्ने बाध्यता रहेका स्थानीयका लागि आफ्नै क्षेत्रमा सञ्चालन हुन लागेको यो बहु–विशेषज्ञ स्वास्थ्य शिविर निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ।

शिविरको दोस्रो दिन पनि निःशुल्क सेवा उपलब्ध रहने भएकाले स्वास्थ्य समस्या भएका सम्पूर्ण नागरिकलाई भोलि पनि शिवराज अस्पताल, बहादुरगञ्जमा उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

