Rashtriya Dainik

अनलाइन भन्सार प्रणाली लागू भएसँगै महेशपुर भन्सारमा सेवाग्राहीको चाप

अनिल बनिया/ नवलपरासी,३१ जेठ

यात्रु लक्षित अनलाइन भन्सार प्रणाली कार्यान्वयनमा आएपछि पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयमा आइतबार बिहानदेखि सेवाग्राहीको उल्लेख्य भीड देखिएको छ। बिहान ८ बजेदेखि नै नेपाल–भारत सीमाबाट नेपाल भ्रमणमा आएका भारतीय पर्यटक तथा अन्य यात्रुहरू अनलाइन भन्सार प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमा पुगेका थिए।

महेशपुर भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ भण्डारीका अनुसार भारतमा आइतबार सार्वजनिक बिदा परेकाले नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्या बढेको हो। नयाँ अनलाइन प्रणालीमार्फत भन्सार प्रक्रिया गर्नुपर्ने भएकाले कार्यालयमा यात्रुको चाप बढेको उनले बताए।

नेपाल सरकारले हालै लागू गरेको व्यवस्थाअनुसार भारतीय नम्बर प्लेटका निजी सवारीसाधनले नेपाल प्रवेश गर्दा वर्षमा अधिकतम ३० पटकसम्म मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ। तोकिएको सीमा नाघेमा कानुनी कारबाही हुने प्रावधान रहेको भन्सार कार्यालयले जनाएको छ।

यता, महेशपुर भन्सार कार्यालयमा आवश्यक जनशक्तिको अभाव रहेको पनि देखिएको छ। सीमावर्ती क्षेत्रका व्यापारी तथा स्थानीयवासीले लामो समयदेखि महेशपुर भन्सारका लागि पर्याप्त जग्गा व्यवस्थापन, क्वारेन्टाइन स्थापना तथा भौतिक पूर्वाधार विस्तारको माग गर्दै आए पनि हालसम्म सम्बोधन हुन नसकेको गुनासो गरेका छन्। विभिन्न राजनीतिक दल तथा सरोकारवाला निकायले पटक–पटक विषय उठाए पनि अपेक्षित प्रगति हुन नसकेको उनीहरूको भनाइ छ।

भन्सार कार्यालयका अनुसार नयाँ अनलाइन प्रणालीमार्फत यात्रुले ल्याउने मालवस्तुको विवरण दर्ता, राजस्व भुक्तानी तथा जाँचपास प्रक्रिया डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। प्रणालीको प्रारम्भिक चरण भएकाले जानकारी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न यात्रुहरू लामो समय लाइनमा बस्न बाध्य भएका छन्।

भारतबाट नेपाल भ्रमणमा आएका पर्यटक तथा सीमावर्ती क्षेत्रका स्थानीय नागरिकसमेत नयाँ व्यवस्थाबारे जानकारी लिन भन्सार कार्यालय पुगेका थिए। केही यात्रुले डिजिटल प्रणालीले दीर्घकालीन रूपमा सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउने विश्वास व्यक्त गरेका छन्। तर प्रारम्भिक चरणमा प्राविधिक जानकारीको अभाव, इन्टरनेट तथा प्रक्रियागत जटिलताका कारण केही समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।

महेशपुर भन्सार कार्यालयले सेवाग्राहीलाई आवश्यक जानकारी तथा सहजीकरणका लागि कर्मचारी परिचालन गरिएको जनाएको छ। भन्सार विभागले पछिल्लो समय भन्सार सेवामा डिजिटल प्रणाली विस्तार गर्दै पारदर्शिता, राजस्व व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नीति अघि बढाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित