वीरगंज – नेपाल पत्रकार महासंघ पर्सा शाखाले रिपोर्टिङका क्रममा पत्रकारमाथि कुटपिट भएको भन्दै जारी गरेको प्रेस विज्ञप्तिप्रति महासंघकै कार्यसमितिभित्र विरोध सुरु भएको छ। घटनाबारे पूर्ण जानकारी नलिई एकपक्षीय ढंगले विज्ञप्ति जारी गरिएको भन्दै कार्यसमितिका अधिकांश सदस्यहरूले असन्तुष्टि जनाएका छन्।
महासंघले जारी गरेको विज्ञप्तिमा समाचार संकलन गरी घर फर्किने क्रममा तीन जना पत्रकारमाथि आक्रमण भएको उल्लेख गरिएको छ। तर कार्यसमितिका असन्तुष्ट सदस्यहरूले उक्त घटनाको वास्तविकता फरक रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार ती पत्रकारहरू राति करिब १ बजे तस्करीसँग सम्बन्धित गतिविधिको भिडियो बनाउन पुगेका थिए र सो क्रममा किराना सामान बोकेको मोटरसाइकल रोकेर विवाद भएको थियो।
तस्करी गर्ने व्यक्तिलाई रोकेर प्रहरी बोलाईदिन्छु भनेर बार्गेनिंग गर्ने घटनालाई केवल पत्रकारमाथिको आक्रमणका रूपमा चित्रण गरेर समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने प्रयास गरिएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
साथै, पत्रकारिताको आडमा कुनै प्रकारको अनुचित गतिविधि वा बार्गेनिङ भएको भए त्यसमा संलग्न व्यक्तिमाथि समेत अनुसन्धान गरी आवश्यक सचेतना तथा कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।
महासंघको समाजिक सञ्जालमा रहेको आधिकारिक कार्यसमिति समूहमा समेत विज्ञप्तिको विषयलाई लिएर बहस सुरु भएको बताइएको छ। असन्तुष्ट सदस्यहरूले विज्ञप्ति तत्काल फिर्ता लिएर तथ्यमा आधारित आधिकारिक धारणा सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन्।
घटनाको वास्तविक सत्य तथ्य नबुझि विज्ञप्ति निकालेर महासंघको गरिमा माथी आंच आउने काम गरेको समेत आरोप लगाएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

