राजन कुमार बानियाँ /पर्सा, ३० जेठ ।
अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा पर्साको सखुवा प्रसौनी गाउँपालिकामा भव्य योग शिविर सम्पन्न भएको छ। सखुवा प्रसौनी गाउँपालिकाको आयोजनामा तथा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको सहकार्यमा शनिबार गाउँपालिका–२ स्थित खेल मैदान, श्रीपुर बजार (पंचगावाँ) मा कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै भारतको महावाणिज्य दूतावास, वीरगञ्जका प्रतिनिधि श्री देवी सहाय मीणा विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सशस्त्र प्रहरी बलका एसपी, गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, वडा नं. १ का अध्यक्ष बासुदेव महतो, वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो, वडा नं. ३ का अध्यक्ष मोजामिल अन्सारी, वडा नं. ४ का अध्यक्ष आरिफ अन्सारी, वडा नं. ५ का अध्यक्ष अशेश्वर यादव, वडा नं. ६ की अध्यक्ष मुना कमकर लगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यशवन्त यादवले योग केवल शारीरिक व्यायाम मात्र नभई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीको आधार भएको बताए। उनले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिए।
अध्यक्ष यादवले गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य प्रवर्द्धन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै योगमार्फत स्वस्थ समाज निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा प्रशिक्षकद्वारा विभिन्न योगासन तथा प्राणायाम अभ्यास गराइएको थियो। सहभागीहरूले योगको महत्व, मानसिक शान्ति, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैलीका विषयमा उपयोगी जानकारी प्राप्त गरेका थिए। स्थानीयवासीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाएको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ र सकारात्मक समाज निर्माणको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

