राष्ट्रिय दैनिक / नवलपरासी ,२५ जेठ
बर्दघाट नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका लागि ५ करोडभन्दा बढी बजेटको ऐतिहासिक त्रिपक्षीय समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ।
नगरपालिकाको १८औँ नगरसभाको पहिलो बैठकका अवसरमा बर्दघाट नगरपालिका, समृद्ध समुदाय विकास केन्द्र (एससीडीसी) नेपाल तथा डेनमार्कस्थित अन्तर्राष्ट्रिय संस्था स्कोललिभ इ नेपाल (Skoleliv i Nepal) बीच “बर्दघाटमा गुणस्तरीय शिक्षा र सक्रिय नागरिकता” नामक तीनवर्षे परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
सन् २०२६ जुलाई १ देखि २०२९ जुन ३० सम्म सञ्चालन हुने परियोजनाको कुल बजेट ५ करोड ९ लाख २२ हजार ५ सय ५२ रुपैयाँ रहेको छ। परियोजनाले नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयलाई समेट्नेछ।
सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ तथा साक्षीका रूपमा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले हस्ताक्षर गर्नुभयो। यस्तै, स्थानीय कार्यान्वयन साझेदार एससीडीसी नेपालको तर्फबाट अध्यक्ष ठाकुर घिमिरे र निर्देशक युवराज चापागाईंले हस्ताक्षर गर्नुभयो। अन्तर्राष्ट्रिय साझेदार संस्थाकी निर्देशक एनी मेटी नोर्डफाल्कले यसअघि नै हस्ताक्षर गरिसकेको दस्तावेज नगरसभाको मञ्चमा औपचारिक रूपमा आदानप्रदान गरिएको थियो।
परियोजनाको मुख्य वित्तीय स्रोत डेनमार्कको सिसु (CISU/Danish Civil Society Fund) रहेको छ। यसअन्तर्गत ४ करोड ५५ लाख ५९ हजार ३२ रुपैयाँ एससीडीसी नेपालमार्फत कार्यक्रम सञ्चालन, कर्मचारी व्यवस्थापन, समुदाय परिचालन तथा अनुगमनमा खर्च गरिनेछ।
यस परियोजनाको अर्को महत्वपूर्ण पक्ष स्थानीय सरकारको प्रत्यक्ष वित्तीय सहभागिता हो। बर्दघाट नगरपालिकाले आफ्नै स्वीकृत बजेटमार्फत आगामी तीन वर्षसम्म ३४ वटै विद्यालयका शिक्षकको क्षमता अभिवृद्धिका लागि ५३ लाख ६३ हजार ५ सय २० रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
परियोजनाअन्तर्गत के-के हुनेछन् ?
परियोजनाले विद्यालयमा सहकार्यात्मक तथा सहभागितामूलक सिकाइ पद्धति विकास गर्दै समालोचनात्मक सोच प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। शिक्षकलाई निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउन ‘मेन्टर शिक्षक प्रणाली’लाई नगर शिक्षा नीतिमै समावेश गरिनेछ।
त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ तथा बाल क्लबलाई थप सक्रिय र जिम्मेवार बनाउन सामुदायिक अंक तालिकाजस्ता विधि प्रयोग गरिनेछ। स्थानीय मूल्यांकन प्रणाली सुधार, जोखिममा रहेका बालबालिकाका परिवारसँग संवादमूलक कार्ययोजना निर्माण तथा शिक्षा शाखाभित्र समन्वय डेस्क स्थापना गर्ने योजना पनि परियोजनामा समेटिएको छ।
‘बर्दघाटको शैक्षिक इतिहासमा कोशेढुंगा’
सम्झौतापछि सञ्चारकर्मीसँग कुरा गर्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले यो साझेदारी बर्दघाटको शिक्षा सुधार अभियानमा ऐतिहासिक उपलब्धि भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी केवल भौतिक पूर्वाधार निर्माणमा सीमित छैनौँ। हाम्रा बालबालिकाको सिकाइ, चेतना र शिक्षाको गुणस्तर सुधार गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय सन्दर्भअनुसार कार्यान्वयन गर्दैछौँ। नगरपालिकाले प्रत्यक्ष बजेट साझेदारी गरेर यसको स्वामित्व लिएको छ।”
एससीडीसी नेपालका अध्यक्ष ठाकुर घिमिरेले नगरसभाको मञ्चबाट भएको यो सम्झौता सम्पूर्ण बर्दघाटवासीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो। उहाँले दातृ निकाय र नगरपालिकाले गरेको विश्वासलाई पारदर्शिता, जवाफदेहिता तथा बालअधिकारका मापदण्डअनुसार कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
परियोजनाले आगामी दिनमा शिक्षाको क्षेत्रमा देशभर अनुकरणीय बन्न सक्ने “बर्दघाट मोडल” विकास गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

