Rashtriya Dainik

वैदेशिक रोजगारीमा मृत्यु, दुर्घटना र क्षतिपूर्तिका अधिकारबारे सरावलमा श्रमिकलाई अभिमुखीकरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ जेठ

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) हेल्भेटास लुम्बिनी प्रदेशका प्रदेश अधिकृत ज्याउल हक तथा जिल्ला कार्यक्रम संयोजक ज्ञानप्रकाश यादवले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप तथा तालिम हासिल गर्नुपर्ने, वैदेशिक रोजगारीका लागि कुनै पनि एजेन्ट वा बिचौलियाको हातमा नगद रकम नदिनुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो।

त्यसैगरी श्रम स्वीकृति, वैदेशिक रोजगार बीमा, श्रमिकका अधिकार, सुरक्षित आप्रवासनका उपाय तथा वैदेशिक रोजगारीका क्रममा मृत्यु, गम्भीर बिरामी, दुर्घटनाबाट अंगभंग वा अन्य समस्यामा श्रमिक र उनका परिवारले प्राप्त गर्न सक्ने क्षतिपूर्ति, राहत तथा सहायताका विषयमा समेत विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सरावल गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता निलु अग्रहरीले गाउँपालिकाबाट प्रवाह भइरहेका सेवा, सुविधा तथा विभिन्न विकास गतिविधिबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो। साथै वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूको पुनःएकीकरण, मनोसामाजिक सहयोग तथा स्वरोजगार प्रवर्द्धनका विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकले विदेशमा हासिल गरेको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो। उहाँले सुरक्षित, मर्यादित तथा अधिकारयुक्त वैदेशिक रोजगारीका विषयमा जानकारी हासिल गर्नुका साथै स्वदेशमै रोजगारी तथा उद्यमशीलताका अवसरको खोजी गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा सरावल गाउँपालिका अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका करिब ३२ जना व्यक्तिको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट सुरक्षित वैदेशिक रोजगारी, श्रमिक अधिकार, क्षतिपूर्ति व्यवस्था तथा स्थानीय तहबाट प्राप्त हुने सेवासम्बन्धी महत्वपूर्ण जानकारी हासिल भएको बताएका छन्।

सुरक्षित आप्रवासन कार्यक्रमले वैदेशिक रोजगारीमा जाने तथा फर्किएका श्रमिकलाई आवश्यक सूचना, परामर्श र सहजीकरण उपलब्ध गराउँदै सुरक्षित र व्यवस्थित आप्रवासन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित