आरपि उपाध्याय / नवलपरासी ,२ साउन
पश्चिम नवलपरासीको मुख्यालय परासीमा स्थित नेपाल नेत्र ज्योति संघ डाक्टर विनोद निता कण्डेल आँखा अस्पतालले एक वर्षमा ५५ हजार आँखा परीक्षण गरी स्वास्थ्य सेवा पुर्याएको छ। आर्थिक वर्ष २०८२/ ८३ मा ओपिडी सेवा विद्यालय केन्द्रित आँखा परीक्षण कार्यक्रम र शिविर मार्फत कुल ५५ हजार ३०५ व्यक्तिको आँखा परीक्षण गरिएको हो।
अस्पतालले दिएको जानकारी अनुसार यस अवधिमा ३९ हजार १२३ जना बिरामीले अस्पतालको बहिरङ्ग सेवामार्फत उपचार तथा परामर्श प्राप्त गरेका छन्। त्यसैगरी विद्यालय आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत २७ वटा विद्यालयमा सञ्चालन गरिएको आँखा परीक्षणबाट ७ हजार ६०८ जना विद्यार्थी लाभान्वित भएका छन्। त्यसैगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालन गरिएका २१ वटा निःशुल्क आँखा शिविर मार्फत पाँच हजार ४८ जना नागरिकले विशेषज्ञ आँखासेवा प्राप्त गरेका छन्।

अस्पतालको सेवा पहुँच विस्तारका लागि सञ्चालन गरिएका आँखा उपचार केन्द्र मार्फत ३ हजार २२६ जना सेवाग्राहीहरूले आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको अस्पतालको व्यवस्थापक अजय पाण्डेले जानकारी दिनुभएको छ।
सन् १९८९ मा स्थापना भई सन् २००७ मा माध्यमिक तहको आँखा अस्पतालमा स्तर उन्नति भएको डाक्टर विनोद निता कँडेल आँखा अस्पतालले विगत ३६ वर्षभन्दा बढी समयदेखि पश्चिम नवलपरासी लगायत आसपासका जिल्लाका साथै सिमावर्ती भारतीय क्षेत्रका नागरिकलाई विशेषज्ञ तथा सुलभ आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले मोतियाबिन्दु ,शल्यक्रिया, रेटिना तथा भिट्रीयो रेटिना सेवा, ग्लुकोमा सेवा, बाल आँखा सेवा, न्यून दृष्टि पुनर्स्थापना सेवा, अप्टिकल, फार्मेसी तथा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्दै आएको हो।
समुदायमै पुगेर आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नियमित रूपमा आँखा शिविर, विद्यालय आँखा परीक्षण, जनचेतनामूलक कार्यक्रम तथा आँखा उपचार केन्द्रमार्फत निरन्तर सेवा विस्तार गर्दै आएको अस्पतालले बताएको छ ।
आँखा अस्पतालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँगको सहकार्यमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा स्वास्थ्यसेवाको पहुँचमा पुर्याउने अभियानलाई निरन्तरता दिएको छ। अस्पतालका व्यवस्थापक पाण्डेले दिनुभएको जानकारी अनुसार आर्थिक वर्ष ०८२/ ८३ मा प्राप्त उपलब्धि चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सहयोगी संस्था, स्थानीय सरकार र सामुदायिक विद्यालय, स्थानीय समुदाय तथा सेवाग्राहीहरूको विश्वास र सहकार्यको परिणामबाट नै यो अवस्थामा आएको आँखा अस्पतालले आगामी दिनमा अझ बढी आधुनिक प्रविधि विशेषज्ञ सेवा तथा ग्रामीण पहुँचलाई थप विस्तार गर्दै अन्धोपन मुक्त समाज निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याउनु भयो।

यस सम्बन्धमा व्यवस्थापक पाण्डेले हाम्रा वरिष्ठ संवाददाता आर.पी.उपाध्यायसँग संक्षिप्त कुराकानी गर्दै ग्रामीण भेगमा सेवा प्रदान गर्न अस्पतालले स्थानीय निकायसँग समन्वय गरी यातायातको व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउँदै अझ बढी विज्ञ डाक्टरको सेवा उपलब्ध गराउनेतर्फ अस्पताल पूर्ण प्रतिबद्धताका साथ अगाडि बढेको प्रतिक्रिया दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

