राजन कुमार बानियाँ/पर्सा, १८ जेठ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाबाट प्रहरीले अवैधरूपमा ओसारपसार भइरहेको १० वटा भैँसीका पाडोसहित एक बोलेरो गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले सोमबार राति करिब १:४५ बजे सखुवा प्रसौनी गाउँपालिका–६ स्थित लखनपुर चोकमा जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ०२-०३-००१ च ४००३ नम्बरको बोलेरो गाडीलाई शङ्काको आधारमा रोकी जाँच गर्दा बिना बिल-बिजक राजस्व छली गरी लैजाँदै गरेको अवस्थामा १० वटा भैँसीका पाडो फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बोलेरो चालक पर्साको कालिकामाई गाउँपालिका–५ निवासी ३५ वर्षीय विजय शर्मा, धोबिनी गाउँपालिका–३ निवासी ६१ वर्षीय बिकरमा राउत कुर्मी तथा धोबिनी गाउँपालिका–५ निवासी ५५ वर्षीय होडा देवान रहेका छन्।
नियन्त्रणमा लिइएका व्यक्ति, बोलेरो गाडी तथा भैँसीका पाडोहरूलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

