काठमाडौं ,१२ भदौ ।
देशभर आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्नुका साथै नयाँ यज्ञोपवीत (जनै) धारण गर्दैछन्।
जनैपूर्णिमाका अवसरमा तागाधारी समुदायले विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने तथा ऋषिहरूको पूजा–तर्पण गर्ने परम्परा छ। यही कारण यस दिनलाई ऋषितर्पणी समेत भनिन्छ।
यस दिन एघार प्रकारका गेडागुडी मिसाएर तयार गरिने क्वाँटी खाने चलन पनि छ। क्वाँटी स्वास्थ्यका लागि उपयोगी मानिन्छ भने वर्षायाममा शरीरमा लागेको चिसो हटाउन सहयोग गर्ने धार्मिक तथा आयुर्वेदिक मान्यता रहेको छ।
तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर जनैपूर्णिमा मनाउने परम्परा छ। यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र पारिवारिक सम्बन्ध अझ प्रगाढ बनाउने सामाजिक विश्वास छ।
जनैपूर्णिमाको अवसरमा काठमाडौंको पशुपतिनाथ, वसन्तपुरलगायत देशभरका मठमन्दिर तथा धार्मिकस्थलमा भक्तजनको चहलपहल बढेको छ। मणिचूड, गोसाइँकुण्ड, पाँचपोखरी, कुम्भेश्वर, जनकपुरधाम, दानसाधु तथा नवलपरासीको त्रिवेणीधाम लगायतका धार्मिकस्थलमा समेत आज विशेष मेला लाग्ने गर्दछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

