राष्ट्रिय दैनिक / नवलपरासी ,१८ जेठ
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ६ र ७ मा अवस्थित धनेवा नदीको सफाइ तथा डिल मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ।
प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्पन्न गरी चालु आर्थिक वर्षमा २० लाख रुपैयाँको लागतमा सञ्चालन भइरहेको उक्त योजना अन्तर्गत करिब साढे तीन किलोमिटर क्षेत्रमा नदीको दुवैतर्फ सफाइ तथा डिल मर्मत भइरहेको छ। गत वर्ष पनि यही क्षेत्रमा १० लाख रुपैयाँको लगानीमा डिल मर्मत कार्य सम्पन्न गरिएको थियो।

वर्षायाममा धनेवा नदीमा आउने बाढीका कारण स्थानीयवासीले वर्षौंदेखि बाली नोक्सानी, घर डुबान तथा पशुचौपायामा क्षति व्यहोर्दै आएका छन्। यही समस्यालाई समाधान गर्न गाउँपालिका र वडाले नदी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै निरन्तर काम गरिरहेको जनाएको छ।

आज उक्त योजनाको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन, वडा नं. ६ का अध्यक्ष छोटेलाल गुप्ता तथा वडा नं. ७ का अध्यक्ष ह्यात खाँ धुनिया लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले वडा नं. ६ र ७ बाढी डुबानको उच्च जोखिममा रहेको क्षेत्र भएको उल्लेख गर्दै विगतमा निर्माण गरिएका दुईवटा साइफनले बाढी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले गत वर्ष डिल मर्मत र यस वर्ष नदी सफाइसँगै डिल सुदृढीकरणको काम सम्पन्न भएपछि स्थानीयवासीले बाढीको समस्याबाट थप राहत पाउने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय समाजसेवी झिन्कु चौधरीले वर्षौंदेखि बाढीका कारण खेतीपाती, धनजन तथा जनजीवन प्रभावित हुँदै आएको स्मरण गर्दै विगतमा विभिन्न तहमा गुहार माग्दा पनि सुनुवाइ नभएको बताउनुभयो। तर गाउँपालिका अध्यक्ष चौधरी निर्वाचित भएपछि पालिकाबाट बजेट विनियोजन गरी निरन्तर काम भइरहेको र यसले बाढी नियन्त्रणमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ।

त्यस्तै स्थानीय घनश्याम चौधरीले धनेवा नदीको डिल मर्मत तथा सफाइ कार्यले बाढी नियन्त्रणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसबाट कृषियोग्य जमिन सुरक्षित भई धान उत्पादनसमेत बढ्ने अपेक्षा गर्नुभयो। उहाँले स्थानीय जनताको दीर्घकालीन समस्यालाई सम्बोधन गर्ने यस महत्वपूर्ण योजनाका लागि गाउँपालिका नेतृत्वप्रति धन्यवाद व्यक्त गर्नुभयो।

स्थानीयवासीका अनुसार धनेवा नदी व्यवस्थापनको यो अभियानले बाढी जोखिम न्यूनीकरण, कृषि उत्पादन वृद्धि तथा जनधनको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

