वीरगञ्ज,१४ जेठ
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड बराबरका विभिन्न पेट्रोलियम पदार्थ आयात भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात मूल्यमा रू २५ अर्ब ५३ करोड अर्थात् १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । गत आवको १० महिनामा भने रू एक खर्ब ५६ अर्ब १७ करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए ।
वीरगञ्ज भन्सार कार्यालय का सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ । १० महिनामा रू एक खर्ब ५७ करोड मूल्य बराबरको आठ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात गरिएको छ । गत आवको सोही अवधिमा भने रू ७९ अर्ब ५७ करोड मूल्य बराबरको नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो ।
त्यस्तै, चालु आवको १० महिनामा रू ३५ अर्ब ७९ करोड मूल्य बराबरको तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रू ३१ अर्ब ७१ करोड मूल्य बराबरको तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात गरिएको थियो ।
एलपीजी ग्यासतर्फ भने आयात रकममा केही गिरावट देखिएको छ । चालु आवको १० महिनामा रू २५ अर्ब ५४ करोड मूल्य बराबरको २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपीजी ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा भने रू ३० अर्ब २८ करोड मूल्य बराबरको २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको थियो ।
पेट्रोलियम पदार्थको बढ्दो आयातसँगै वीरगञ्ज नाका मुलुकको राजस्व सङ्कलन र इन्धन आपूर्तिको मुख्य केन्द्रका रूपमा अझ महत्वपूर्ण बन्दै गएको देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

