काठमाडौं ,१४ जेठ
भन्सार विभागले १५ जेठ अर्थात शुक्रबार सबै भन्सार कार्यालयहरू बन्द गर्न सर्कुलर जारी गरेको छ । उक्त दिन आगामी आर्थिक वर्ष, २०८३/८४ को बजेट सार्वजननिक हुँदै छ ।
कर व्यवस्थापन र जाँचपासमा असर गर्ने भए पनि विभागले सबै भन्सार कार्यालयहरूलाई सो दिन कुनै पनि मालवस्तुको भन्सार जाँचपास नगर्ने भनेको हो ।
‘अर्थ मन्त्रीज्यूबाट मिति २०८३/२/१५ मा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय र व्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत हुने भएकोले सो दिन यात्रु जाँचपासबाहेक भन्सार जाँचपासको कार्य बन्द गर्न गराउन हुन तथा मिति २०८३/२/१६ बाट भन्सार जाँचपास गर्दा आर्थिक विधेयक, २०८३ मार्फत भएका परिवर्तन आसिकुडा प्रणालीमा अद्यावधिक भए/नभएको यकिन गरेर मात्र जाँचपास गर्न हुनका साथै मिति २०८३/२/१४ सम्म दर्ता भएका प्रज्ञापनपत्र सोही मितिभित्र जाँचपास गर्नु गराउनु,’ निर्देशनमा भनिएकाे छ ।
‘प्रज्ञापनपत्र बाँकी रहेको खण्डमा आर्थिक विधेयक, २०८३ मा दररेट परिवर्तन भएमा सोही अनुरुप जाँचपास गर्ने एवम् २०८३/२/१४ वा सो भन्दा अगाडि मूल प्रज्ञापनपत्रबाट घोषणा गरेका तर, जाँचपास हुन बाँकी वस्तुको हकमा महसुल दर परिवर्तन भएमा परिवर्तित दर अनुसार छुट हुने महसुल असुली गरेर मात्र पटके प्रज्ञापनपत्रबाट वस्तु जाँचपास गर्नहुन समेत निर्देशन गरिएको छ,’ विभागले सबै भन्सार कार्यालयहरूलाई जारी गरेको सर्कुलरमा भनिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

