Rashtriya Dainik

पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धिकरणको माग चर्कियो, संघर्ष समितिद्वारा केन्द्र र प्रदेशलाई ज्ञापनपत्र

पर्सा, १२ जेठ ।
नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठित संघर्ष समितिले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तथा मधेश प्रदेश समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघर्ष समितिका संयोजक अनुप तिवारीले महासंघका केन्द्रीय सचिव अशोक तिवारी तथा मधेश प्रदेश अध्यक्ष श्याम बंजारा लाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै केन्द्रीय सचिव तिवारीले संघर्ष समितिले उठाएका मागप्रति केन्द्र सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । सदस्यता शुद्धिकरण अभियान केन्द्रको समेत प्राथमिकताको विषय भएकाले पर्सामा भइरहेको आन्दोलनप्रति आफ्नो साथ र समर्थन रहने उनले बताए । पर्सामा निष्क्रिय तथा विवादित सदस्यहरूको छानबिन गरी प्रक्रियाअनुसार अघि बढाउन केन्द्र सहमत रहेको उनको भनाइ थियो ।
यसैबीच मधेश प्रदेश अध्यक्ष बंजाराले पनि पर्साको वर्तमान कार्यसमितिलाई शुद्धिकरण प्रक्रियालाई अविलम्ब अगाडि बढाउन आग्रह गरेका छन् । जिल्लाबाट सर्वसम्मत रूपमा नाम सिफारिस गरी समस्या समाधानतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघर्ष समितिका सह–संयोजक शेखर छतकुल्ली, सदस्यहरू लालकिशोर सिंह, बिरेन्द्र साह ‘हिटलर’, राजेन्द्र सिंह, सन्तोष पटेल, कृष्णा कुशवाहा, मनोज कुमार मिश्र लगायतको सहभागिता रहेको थियो ।
यसैगरी संघर्ष समितिका संयोजक अनुप तिवारीले आन्दोलनका थप कार्यक्रमअन्तर्गत मंगलबारदेखि नेपाल पत्रकार महासंघ पर्सा शाखाको मूल गेटमा धर्ना दिइने जानकारी दिएका छन् । उनका अनुसार मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना कार्यक्रम सञ्चालन हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित