Rashtriya Dainik

सीमावर्ती भारतीय क्षेत्रमा इन्धन हाहाकार, पम्प छेउमै रात बिताउँदै सर्वसाधारण

बिनोद निगम / नवलपरासी , ८ जेठ

पश्चिम नवलपरासीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लामा पछिल्ला केही दिनदेखि पेट्रोलियम पदार्थको अभाव चुलिँदै गएको छ। पेट्रोल र डिजेल भर्नका लागि सर्वसाधारणले दुईदेखि तीन किलोमिटरसम्म लामो लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ भने कतिपय मानिसहरू पेट्रोल पम्प नजिकै रात बिताउन बाध्य भएका छन्।

स्थानीयका अनुसार जिल्लाका अधिकांश पेट्रोल पम्पमा बिहानैदेखि सवारी साधनको लामो लाइन देखिने गरेको छ। मोटरसाइकल, कार, ट्र्याक्टर तथा मालवाहक सवारीहरू पालो कुरेर घण्टौँसम्म लाइनमा बसिरहेका छन्। इन्धन सकिने डरले धेरैले आवश्यकताभन्दा बढी पेट्रोल–डिजेल भर्ने प्रयास गर्दा अवस्था थप जटिल बनेको बताइएको छ।

विशेषगरी सीमावर्ती क्षेत्रका पेट्रोल पम्पहरूमा अत्यधिक भीड देखिएको छ। कतिपय पम्पमा सीमित मात्रामा इन्धन उपलब्ध हुँदा पालो नपाई फर्किनुपर्ने अवस्था समेत रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही सर्वसाधारणले आफ्नो पालो सुरक्षित गर्न रातिदेखि नै लाइन बस्ने र पम्प नजिकै सुत्ने गरेका छन्।

इन्धन अभावका कारण दैनिक जनजीवनमा समेत असर देखिन थालेको छ। सार्वजनिक यातायात सञ्चालनमा समस्या आउन थालेको छ भने कृषि कार्य, ढुवानी तथा साना व्यवसाय प्रभावित भएका छन्। डिजेल अभावका कारण किसानहरूले सिंचाइ र कृषि उपकरण सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित