राष्ट्रिय दैनिक / नवलपरासी ,८ जेठ
प्रतापपुर गाउँपालिका — सडक निर्माणमा ठेकेदार कम्पनीको लापरवाहीविरुद्ध स्थानीयवासी आन्दोलित बनेका छन्। बेलाटारी–गोपीगञ्ज सडक खण्डमा अत्यधिक धुलो उडेर जनजीवन कष्टकर बनेपछि आक्रोशित स्थानीयले शुक्रबार सडक अवरुद्ध गरेका हुन्।
स्थानीयका अनुसार निर्माण कार्य सुस्त गतिमा भइरहेको, नियमित रूपमा पानी नछर्किएको तथा धुलो नियन्त्रणका प्रभावकारी उपाय नअपनाइएकाले दैनिक आवतजावत नै कठिन बनेको छ। सडकबाट उड्ने धुलोका कारण सर्वसाधारण, विद्यार्थी, व्यापारी तथा यात्रु सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीयको अवरोधका कारण केही समय बेलाटारी–गोपीगञ्ज सडक खण्डमा यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको थियो। सडक बन्द हुँदा यात्रु तथा सवारी चालकहरू समस्यामा परेका थिए भने दर्जनौं सवारी साधन बाटोमै रोकिएका थिए।
प्रदर्शनमा सहभागी स्थानीयले निर्माण कम्पनीलाई तत्काल नियमित पानी छर्किन, सडक निर्माणलाई व्यवस्थित ढंगले अघि बढाउन तथा काम छिटो सम्पन्न गर्न माग गरेका छन्। उनीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको आरोप लगाएका छन्।
स्थानीयवासीले सम्बन्धित निकाय र निर्माण कम्पनीले समस्या समाधानतर्फ तत्काल पहल नगरे आन्दोलन अझ सशक्त बनाइने चेतावनी समेत दिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

