थोरैको रहर र धेरैको करकोबीचमा हुर्किएको ।
समानताको अर्थ खोज्दै सधै रुमलिएको ।।
भाइ जन्मिदा घरमा खसी काटिएको ।
म जन्मेको दिनमा आमाले अपहेलित हुनुपरेको ।।
हो म त्यही हुँ एक नारी………………
सानैमा हजुरआमाले कुच्चो समात्न सिकाएको ।
आमाले मेरो दौरा खोसी जामा लगाइदिएको ।।
मेरा साना हातहरुमा बालेपुतली थमाई दिएको ।
तैले धेरै बोल्न हुन्न भनी हजुरबाको सधै हप्की खाएको ।।
हो म त्यही हुँ एक नारी………………
त् अरुको घरको नासो होस् भनी सधै सुन्नुपरेको ।
जन्मेको आफ्नै घरमा पनि पराई हुनु परेको ।।
भाइ किताब च्यापेर बोर्डिंग स्कूल पढ्न जाँदा ।
म हातमा लौरो बोकी गोठालो हिड्नुपरेको ।।
हो म त्यही हुँ एक नारी………………
घरको कुनै शुभ कार्य हुँदा छुट्टै बस्न लगाइएको ।
घरको निर्यण प्रक्रियामा अर्थहीन सहभागिता गराइएको ।।
मेरा हरेक चाहनालाई सधै कुण्ठित बनाइएको ।
अरुका उज्यालोका निम्ति हरेक दिन स्वयं बल्नु परेको ।।
हो म त्यही हुँ एक नारी………………
नारी दुर्गा, माता, सरस्वती हुन् भनी सधै भन्ने गरिएको ।
अरुका स्वार्थका लागि हजारौं पटक प्रयोगमा ल्याइएको ।।
आफ्नै पहिचानका लागि आफैसंग सधै लड्नु परेको ।
अरुका हरेक खुशीका लागि आफु सधै जल्नु परेको ।।
हो म त्यही हुँ एक नारी………………
#मनोज लामिछाने#
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

