Rashtriya Dainik

सरावल स्वास्थ्य चौकी अब नयाँ भवनबाट सञ्चालन

डेढ करोड लागतमा बनेको सुविधा सम्पन्न भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा सुरु

राष्ट्रिय दैनिक /नवलपरासी ,४ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित सरावल स्वास्थ्य चौकीको नव–निर्मित भवनबाट औपचारिक रूपमा स्वास्थ्य सेवा सञ्चालनमा आएको छ। सोमबार धार्मिक विधिअनुसार पूजा तथा गृह प्रवेश गर्दै नयाँ भवनबाट सेवा शुभारम्भ गरिएको हो।

संघीय सरकारको विशेष अनुदान तथा गाउँपालिकाको लागत साझेदारीमा करिब डेढ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको उक्त भवनबाट अब स्थानीय नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

नयाँ भवनको उद्घाटन तथा सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम तथा वडा नं. ३ का वडा अध्यक्ष फिरंगी चौधरी लगायतले संयुक्त रूपमा पूजा गर्दै नियमित सेवा प्रारम्भ गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले नयाँ भवन निर्माणसँगै अब सरावल क्षेत्रका नागरिकले व्यवस्थित, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसअघि भौतिक संरचनाको अभावमा स्वास्थ्य चौकी सञ्चालनमा समस्या हुँदै आएको उल्लेख गर्दै अब पर्याप्त कोठा, आवश्यक सेवा सुविधा तथा अनुकूल वातावरणसहित सेवा प्रवाह हुने बताउनुभयो।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ भवनबाट सेवा सुरु भएसँगै गाउँस्तरमै उपचार सेवा विस्तार हुने र नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने स्थानीयवासीको विश्वास रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित