राष्ट्रिय दैनिक / नवलपरासी ,२९ बैशाख
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ गुठीसुर्यपुरा विकास निर्माण, स्वास्थ्य, खेलकुद र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै नमुना वडाको रूपमा अगाडि बढिरहेको छ। वडा अध्यक्ष हरेन्द्र यादव को नेतृत्वमा वडामा जनतासँग प्रत्यक्ष जोडिएका विभिन्न योजनाहरू प्रभावकारी रूपमा सञ्चालनमा आएका छन्।
वडाको जगतपुर टोलमा करिब एक वर्षदेखि आधुनिक व्यायामशाला सञ्चालनमा रहेको छ। आफ्नै भवनमा सञ्चालन भइरहेको उक्त व्यायामशालामा करिब ५ लाख रुपैयाँ बराबरका व्यायाम सामग्री व्यवस्थापन गरिएको वडा कार्यालयले जनाएको छ। युवाहरूलाई स्वस्थ र सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले स्थापना गरिएको व्यायामशालाले स्थानीय युवाहरूमा उत्साह थपेको छ।
त्यसैगरी वडा क्षेत्रमा सडक बत्ती विस्तार गरिँदा स्थानीयवासीलाई रातिको समयमा सहजता र सुरक्षा महसुस हुन थालेको छ। स्वास्थ्य सेवातर्फ पनि वडा कार्यालयले महत्वपूर्ण पहल गरेको छ। वडा कार्यालयकै २० लाख रुपैयाँ बजेटबाट एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएपछि बिरामीलाई आकस्मिक अवस्थामा सहज सेवा प्राप्त हुन थालेको छ।

सुत्केरी महिलाहरूलाई प्रोत्साहनस्वरूप २ हजार रुपैयाँ बराबरको कोसेली वितरण कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यप्रति सकारात्मक सन्देश दिएको स्थानीयको भनाइ छ।
वडा अध्यक्ष हरेन्द्र यादवको पहलमा नेपाल टेलिकमको NTC टावर जडान गरिएपछि लामो समयदेखि सञ्चार समस्याबाट पीडित स्थानीयवासी लाभान्वित भएका छन्। त्यस्तै कृषि विद्युतिकरण कार्यक्रममार्फत किसानलाई आधुनिक कृषि प्रणालीतर्फ जोड्ने प्रयास गरिएको छ।

बालबालिकाको अधिकार, शिक्षा र सुरक्षित वातावरणलाई प्राथमिकतामा राख्दै वडामा बालमैत्री कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। स्थानीय तहको सीमित स्रोतसाधनका बाबजुद जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित योजनालाई प्राथमिकता दिँदै प्रतापपुर–७ विकासको उदाहरणीय यात्रामा अघि बढिरहेको स्थानीयवासी बताउँछन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

