Rashtriya Dainik

“करोडौँको बजेट बालुवामा पानी ! सरावल १ खोखरपुराको विपश्यना केन्द्र अलपत्र”

राष्ट्रिय दैनिक / नवलपरासी,२८ साउन ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ खोखरपुरामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न विपश्यना ध्यान केन्द्र प्रयोगविहीन अवस्थामा अलपत्र परेको छ।

निर्माण सम्पन्न भएको करिब दुई वर्षमै भवन जीर्ण बन्दै गएपछि राज्यको ठूलो लगानी खेर जाने जोखिम बढेको छ।

सहरी विकास तथा भवन कार्यालय, रूपन्देही मार्फत निर्माण गरिएको उक्त ध्यान केन्द्र ६ वटा एसीसहित सुविधा सम्पन्न विपश्यना केन्द्र निर्माण गरिएको हाे। तर, जुन उद्देश्यका लागि भवन निर्माण गरिएको हो, त्यसअनुसार प्रयोगमा आउन नसक्दा अहिले भवन संरक्षणविहीन बनेको स्थानीयको गुनासो छ।

निर्माण सम्पन्न भएको लामो समयसम्म प्रयोगमा नआउँदा भवनका देवाल चर्किन थालेका छन् भने झ्यालका सिसासमेत फुटेका छन्। करोडौँको सार्वजनिक बजेट खर्च गरेर निर्माण गरिएको संरचना प्रयोगविहीन अवस्थामा रहँदा यसको संरक्षण र व्यवस्थापनप्रति सम्बन्धित निकायको गम्भीर उदासीनता देखिएको स्थानीय बताउँछन्।

सरावल २ का कार्यवाहक वडा अध्यक्ष नरेन्द्र प्रसाद चाैधरीका अनुसार उक्त योजना सुरुमा ककरपत्त नगर जावा क्षेत्रमा निर्माण गर्ने गरी आएको थियो। तर, स्थानीयवासीले त्यहाँ भवन निर्माण गर्न सहमति नदिएपछि योजनालाई खोखरपुरातर्फ सारिएको हो। जावा र खोखरपुराबीचको दूरीसमेत उल्लेख्य रहेकाले मूल उद्देश्यअनुसार ध्यान केन्द्र सञ्चालनमा ल्याउन चुनौती देखिएको स्थानीयको भनाइ छ।

योजना जहाँका लागि आएको थियो, त्यहाँ बन्न सकेन; अर्को स्थानमा बनाइएको संरचना पनि सञ्चालनमा आएन। परिणामतः सार्वजनिक रकम खर्चिएर बनाइएको भवन अहिले प्रयोगविहीन हुँदै भौतिक रूपमा समेत क्षतिग्रस्त बन्न थालेको छ।

स्थानीयको प्रश्न छ—करिब १ करोड रुपैयाँ खर्च गरेर बनाइएको संरचना दुई वर्षमै भत्किने अवस्थामा पुग्दा यसको जिम्मेवारी कसले लिने?
सरावल गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी तथा सम्बन्धित निकायले समेत यस विषयमा समयमै ध्यान नदिएको स्थानीयको आरोप छ। जनप्रतिनिधि र कर्मचारीले भवनको अवस्था अनुगमन गरी प्रयोगमा ल्याउने ठोस पहल नगरे सार्वजनिक सम्पत्तिको थप क्षति हुने उनीहरूको भनाइ छ।

गाउँपालिकाभित्र करोडौँको सार्वजनिक सम्पत्ति यसरी अलपत्र पर्दासमेत जनप्रतिनिधि , कर्मचारीकाे ध्यान नपुग्नु विडम्बनापूर्ण भएको स्थानीय बताउँछन्।

ध्यान, साधना र मानसिक शान्तिका लागि निर्माण गरिएको भवन आफैं संरक्षणको पर्खाइमा छ। करोडौँको बजेटले बनेको संरचना उद्देश्यविहीन बन्दै जाँदा यो घटना सार्वजनिक लगानीको योजना छनोट, कार्यान्वयन, स्थान निर्धारण र उपयोगितामाथि गम्भीर प्रश्न बनेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित