Rashtriya Dainik

औषधि अभावबीच पनि प्रभावकारी सेवा दिँदै गुठी प्रसौनी आयुर्वेद औषधालय

राष्ट्रिय दैनिक / नवलपरासी , २९ वैशाख ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठी प्रसौनीमा रहेको गुठी प्रसौनी आयुर्वेद औषधालयले सीमित स्रोतसाधन र औषधि अभावका बीच पनि प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ।

औषधालयका कार्यालय प्रमुख दिनबन्धु मिश्राले संघ सरकारबाट पर्याप्त मात्रामा औषधिको आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बताउनुभयो।

औषधिको माग बढ्दै गए पनि आवश्यक परिमाणमा आपूर्ति नहुँदा केही चुनौती देखिएको उहाँको भनाइ छ।

२०७४ सालदेखि सञ्चालनमा रहेको उक्त आयुर्वेद औषधालयले स्थानीय नागरिकलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। विशेषगरी सुत्केरी आमाका लागि दूध प्रवर्द्धन सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन सेवा तथा पञ्चकर्म सेवा अन्तर्गत स्नेहन–स्वेदन सेवा प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख मिश्राका अनुसार आयुर्वेदिक उपचार पद्धतिमा साइड इफेक्ट कम हुने भएकाले पछिल्लो समय सेवाग्राहीको आकर्षण बढ्दो छ। औषधालयमार्फत जिर्ण रोग, नसर्ने रोग, मुटुरोग, छाला सम्बन्धी समस्या तथा वात सम्बन्धी रोगको रोकथाम र उपचारमा विशेष काम भइरहेको छ।
त्यस्तै पत्थरी, पाइल्स, ग्यास्ट्रिक, जोर्नी तथा हड्डी सम्बन्धी समस्या, स्त्रीरोग तथा छाला रोगका बिरामीले पनि नियमित रूपमा सेवा लिइरहेका छन्।

औषधालयबाट सेवा लिने स्थानीय सेवाग्राही राजमा खातुन र नाथु लोहारले आयुर्वेद उपचारबाट स्वास्थ्यमा सकारात्मक सुधार आएको बताउँदै सेवा प्रति सन्तुष्टि व्यक्त गर्नुभयो।

स्थानीयस्तरमै प्रभावकारी उपचार सेवा उपलब्ध हुँदा सर्वसाधारणलाई सहज भएको भन्दै नागरिकहरूले औषधिको नियमित आपूर्ति र सेवा विस्तारमा सरकारको ध्यान जानुपर्ने माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित