बिनोद निगम/ नवलपरासी ,३ वैशाख
पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार नाका जोड्ने महेशपुर–परासी–सुनवल सडक स्तरोन्नति आयोजना गम्भीर ढिलाइको शिकार बनेको छ। सूचना बोर्डमा २०८१ असोज २६ भित्रै निर्माण सम्पन्न गर्ने उल्लेख गरिए पनि निर्धारित समयसीमा सकिएको लामो समय बितिसक्दा समेत काम ३५ प्रतिशतसमेत पूरा हुन सकेको छैन। ढिलासुस्तीप्रति असन्तुष्ट स्थानीयवासी अहिले आन्दोलनमा उत्रिएका छन्।
सडक डिभिजन कार्यालय बुटवलले २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रुपैयाँ ७२ पैसा (भ्याटसहित) लागतमा उक्त आयोजनाको ठेक्का दिएको थियो। गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालिले २०८० वैशाख २६ गते सम्झौता गर्दै २०८१ असोज २६ भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो। तर, निर्धारित समयसीमा सकिँदासमेत निर्माणको प्रगति सन्तोषजनक देखिएको छैन।
निर्माण ढिलाइले स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ। सडकमा अत्यधिक धुलो उड्दा घर, भान्सा, पसल र स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ भने वर्षायाममा हिलो जम्दा आवतजावत जोखिमपूर्ण बनेको छ। धुलोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढेको र दुर्घटनाको जोखिमसमेत उच्च भएको स्थानीयहरूको गुनासो छ।
सडक विस्तारका क्रममा दर्जनौँ पसल विस्थापित भएका छन् भने केही घरधनीले सडक फराकिलो हुने आशामा आफ्ना घरसमेत भत्काएका छन्। तर निर्माण कार्य अलपत्र परेपछि उनीहरू दोहोरो मारमा परेका छन्। एक स्थानीय व्यापारीले आक्रोश व्यक्त गर्दै भने, “घर भत्कियो, व्यापार गुम्यो, तर सडक बनेन।”
महेशपुर–हरपुर खण्डअन्तर्गत करिब १.५ किलोमिटर सडक तीन वर्ष बितिसक्दा पनि पूरा नभएपछि स्थानीय युवाहरू आन्दोलित भएका छन्। बुधबार उनीहरूले दुई घण्टा सडक अवरुद्ध गर्दै निर्माण कम्पनी र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। आन्दोलनरत पक्षले तत्काल वार्ता नगरिए सडक पूर्ण रूपमा बन्द गर्ने चेतावनीसमेत दिएका छन्।
यो सडक महेशपुर नाकाबाट सदरमुकाम परासी हुँदै पूर्व–पश्चिम राजमार्गसँग जोडिने भएकाले सीमावर्ती व्यापार, यात्रु आवतजावत तथा स्थानीय अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। तर, पहिलो खण्डमै देखिएको यस्तो ढिलाइले समग्र आयोजना सम्पन्न हुन अझै वर्षौँ लाग्ने चिन्ता बढेको छ।
स्थानीयवासीले निर्माणको वास्तविक प्रगति विवरण सार्वजनिक गर्न, नियमित अनुगमनलाई प्रभावकारी बनाउन र धुलो नियन्त्रणका लागि ठोस उपाय अपनाउन माग गरेका छन्। कहिलेकाहीँ पानी छर्किए पनि सवारी साधनको चापसँगै पुनः धुलो उड्ने समस्या यथावत् रहेको उनीहरूको भनाइ छ।
यसैबीच, सडकको दयनीय अवस्थाका कारण दुर्घटनासमेत बढ्दै गएका छन्। स्थानीयका अनुसार मंगलबार एक मोटरसाइकल चालक घाइते भएका थिए भने यस्ता घटना पटक–पटक दोहोरिने गरेका छन्। “सडक सुधारका नाममा जोखिम बढेको छ,” एक स्थानीयले बताए।

सूचना बोर्डमा उल्लेखित समयसीमा र वास्तविक अवस्थाबीचको ठूलो अन्तरले सरकारी अनुगमन संयन्त्र र ठेकेदार कम्पनीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। समयमै काम सम्पन्न गराउन कडाइ नगरिए यस्ता महत्वपूर्ण आयोजना वर्षौँसम्म अलपत्र पर्ने खतरा रहेको स्थानीयको भनाइ छ।
स्थानीयवासीले अब नयाँ सरकारप्रति आशा व्यक्त गर्दै यस सडक आयोजनामा तत्काल ध्यानाकर्षण गराउन माग गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

