Rashtriya Dainik

नवलपरासी प्रशासन आफ्नै भवनमा सर्दै, वैशाख २ देखि सेवा सुरु

बिनाेद निगम / नवलपरासी ,२८ चैत

नवलपरासी पश्चिमस्थित जिल्ला प्रशासन कार्यालय अब आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने तयारीमा पुगेको छ। हालसम्म उद्योग वाणिज्य संघको भवनमा भाडामा सञ्चालन हुँदै आएको कार्यालयले भवन निर्माण सम्पन्न भएसँगै स्थानान्तरण प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

कार्यालयका प्रशासकीय अधिकृत विक्रम श्रेष्ठका अनुसार आगामी २०८३ वैशाख २ गतेदेखि नयाँ भवनबाट नियमित सेवा सुरु गरिनेछ। नयाँ संरचनामा आवश्यक पूर्वाधार, सेवा कक्ष तथा प्रविधि व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको उनले जानकारी दिए।

सेवा स्थानान्तरणलाई व्यवस्थित बनाउन सामग्री सार्ने, अभिलेख व्यवस्थापन गर्ने तथा विद्युत् र इन्टरनेट जस्ता प्राविधिक प्रणाली जडान गर्ने काम जारी छ। यसैक्रममा २०८२ चैत ३० गतेका दिन अनलाइन प्रणालीमार्फत प्रदान गरिने सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने कार्यालयले जनाएको छ।

यद्यपि सो दिन पूर्ण रूपमा सेवा बन्द नहुने र केही सेवा पुरानै भवनबाट सञ्चालन गरिने बताइएको छ। तर नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी तथा राष्ट्रिय परिचयपत्रजस्ता अनलाइन सेवाहरू भने उपलब्ध नहुने स्पष्ट गरिएको छ।

कार्यालयले नयाँ भवनबाट सेवा सुरु भएपछि सेवाग्राहीले अझ व्यवस्थित, छरितो र सेवामैत्री वातावरणमा सेवा पाउने विश्वास व्यक्त गरेको छ। साथै, सेवा अवरुद्ध हुँदा हुन सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सेवाग्राहीलाई आवश्यक कामका लागि वैकल्पिक मिति छनोट गर्न अनुरोध गरिएको छ।
नयाँ भवन सञ्चालनसँगै प्रशासनिक सेवा थप प्रभावकारी, पारदर्शी र सहज बन्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित