काठमाडौं,२८ चैत ।
पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्रको उत्पादन लगातार घट्दै गएको विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको छ।
गण्डक अभियन्ता एवं गण्डक नदी नियन्त्रण संघर्ष समितिका प्रवक्ता बृजराज कुशवाहा तथा सांसद बिक्रम खनाल ,रास्वपा नवलपरासी कार्यवाहक सभापति रबि पाण्डेय ,सचिव अमरमणि पाठक ,युवा नेता बिरेन्द्र यादव सहितकाे टाेलिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठ समक्ष समस्या र समाधानसहितको सुझावपत्र पेश गरेका छन्।
यसअघि चैत १७ गते मन्त्री श्रेष्ठसँग भेटका क्रममा उनले गण्डकको समस्याबारे ध्यानाकर्षण गराएका थिए। त्यसक्रममा मन्त्रीले उत्पादन घट्नुका कारण र समाधानबारे विस्तृत अध्ययनसहित सुझाव पेश गर्न आग्रह गरेका थिए।
सुझावपत्रअनुसार, मुख्य समस्या गण्डक पश्चिमी नहरमा बालुवा जम्नु, मर्मत–सम्भारको अभाव, पुराना उपकरण तथा कमजोर प्राविधिक व्यवस्थापन रहेको उल्लेख गरिएको छ। हाल केन्द्रको उत्पादन करिब ३–४ मेगावाटमा सीमित भएको छ, जबकि यसको कुल क्षमता करिब १५ मेगावाट रहेको छ।
कुशवाहाले तत्काल मर्मत, स्तरोन्नति र आधुनिकीकरण गरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। साथै उत्पादन वृद्धि गर्न नेपाल–भारतबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि सुझावमा उल्लेख छ।
उनले स्पष्ट समयसीमासहित कार्ययोजना बनाएर उत्पादनलाई पुनः १५ मेगावाटसम्म पुर्याउन ठोस कदम चाल्नुपर्ने बताएका छन्। ढिलाइ भएमा देशको ऊर्जा स्रोतमा निरन्तर क्षति हुनेतर्फ पनि उनले ध्यानाकर्षण गराएका छन्।
सुझावपत्र बुझाउने क्रममा कर्णाली जलअधिकार अभियन्ता मेघ बहादुर आले लगायतको उपस्थिति रहेको थियो।
गण्डक जलविद्युत केन्द्रको प्रभावकारी सञ्चालनले नेपाललाई ऊर्जा आत्मनिर्भरतातर्फ लैजान महत्वपूर्ण योगदान पुर्याउने सरोकारवालाहरूको विश्वास रहेको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

