Rashtriya Dainik

कालिकामाईमा लागू औषध विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न

राजन कुमार बानियाँ /पर्सा, ४ चैत

पर्साको कालिकामाई गाउँपालिकास्थित कालिकामाई युवा समाजको आयोजनामा “लागू औषध विरुद्ध जनचेतना अभियान” अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय, पोखरियाको सहकार्यमा आयोजित कार्यक्रम श्री ने.रा.मा.बि., कट्टिबलुवामा सम्पन्न भएको हो।
कार्यक्रममा युवा समाजका अध्यक्ष आकाश चौरसियाले पछिल्लो समय युवा तथा बालबालिकामा लागू औषधको लत बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पहिलो चरणमा पालिकाभित्रका विद्यालयहरूमा प्रशिक्षण सम्पन्न गरिएको र दोस्रो चरणमा स्थानीय सरकारसँग सहकार्य गरी अभियानलाई अझ प्रभावकारी बनाउने योजना रहेको बताए। साथै, सहयोगका लागि प्रहरी निरीक्षक प्रदीप पौडेललाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष राजमति देवी बरैनीले लागू औषधले युवाको भविष्य मात्र नभई परिवारसमेत प्रभावित हुने भएकाले यसबाट टाढा रहन आग्रह गरिन् र अभियान सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले लागू औषधको परिभाषा, यसको असर, लत लाग्ने कारण, नियन्त्रणका उपाय तथा कानुनी प्रावधानबारे जानकारी दिँदै विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए।
यसै क्रममा विद्यालय वरपरका पसलहरूलाई लागू औषधसँग सम्बन्धित वस्तु बिक्री वितरण नगर्न चेतावनी दिइएको छ। उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही गरिने समेत जनाइएको छ।
आकाश चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक जितेन्द्र राउतले गरेका थिए। कार्यक्रममा विभिन्न अतिथि, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको युवा समाजका सदस्य मोहन महतोले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित