राजन कुमार बानियाँ/ पर्सा, २८ फागुन
पर्साको जगन्नाथपुर गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक थान ट्याक्टर बरामद गरेको छ। गएराति जगन्नाथपुर गाउँपालिका–४ स्थित सरेह बाटोबाट करिब २१२ किलो (दुई क्विन्टल १२ किलो) गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा निगरानी बढाइएको थियो।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
तस्करहरूले मे १ त ५७१४ नम्बरको सोनालिका ट्याक्टरमा गाँजा लोड गरी लैजाँदै गर्दा प्रहरीले पटेर्वा सुगौलीदेखि जगन्नाथपुरसम्म पछ्याएको थियो। अन्ततः राति करिब ११:३० बजे जगन्नाथपुर–४ मा प्रहरी टोलीलाई देख्नासाथ चालक र तस्करहरू ट्याक्टर छाडेर फरार भएका थिए।

प्रहरीका अनुसार बरामद गाँजा सोनवर्षाका तीन जना कुख्यात कारोबारीसँग सम्बन्धित रहेको खुलेको छ। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार ट्याक्टर र गाँजा नियन्त्रणमा लिइएको छ भने फरार रहेका चालक र तस्करहरूको पहिचान गरी खोजी तथा थप अनुसन्धान तीव्र पारिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

