Rashtriya Dainik

परिणाम स्वीकार्दै भीमबहादुर (भरत) थापाको सन्देश: जनताको निर्णय सर्वोपरि

राष्ट्रिय दैनिक /नवलपरासी,२४ फागुन ।

प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नवलपरासीका नेपाली कांग्रेसका उम्मेदवार भिम बहादुर थापा (भरत) ले मतदाताप्रति आभार व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियाप्रति सम्मान जनाएका छन्।

थापाले एक वक्तव्य जारी गर्दै लोकतन्त्रको महान पर्वका रूपमा सम्पन्न भएको निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद दिएका छन्। उनले जनताको जनमत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै प्राप्त परिणामलाई सबैले खुलेर सम्मान गर्नुपर्ने बताएका छन्।

“जित–हार लोकतान्त्रिक यात्राको स्वाभाविक पाटो मात्र हो, तर जनताको निर्णय सधैं सर्वोपरि हुन्छ,” उनले भनेका छन्।

थापाले निर्वाचन अभियानका क्रममा दिन–रात खटिने पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई पनि धन्यवाद दिएका छन्। उनीहरूकै मिहिनेत, समर्पण र विश्वासका कारण चुनावी यात्रा सम्भव भएको उनले उल्लेख गरेका छन्।

यसैगरी चुनावी परिणामपछि एकअर्कालाई दोषारोपण गर्नेभन्दा पनि आत्ममूल्याङ्कन गर्दै अझ सशक्त रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

थापाले अब बन्ने सरकारलाई सफल बनाउन सबैले सकारात्मक साथ र सहयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

नवलपरासीलाई अझ समृद्ध, सभ्य र विकसित बनाउने साझा अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताउँदै उनले एकता र सहकार्यबाट मात्रै जिल्लाको उज्यालो भविष्य सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

वक्तव्यको अन्त्यमा उनले “जय नेपाल” भन्दै देश र क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित