Rashtriya Dainik

पराजय स्वीकार्दै ध्रुब बहादुर प्रधानको सन्देश: “समृद्ध नवलपरासीका लागि मेरो अभियान जारी रहनेछ”

राष्ट्रिय दैनिक /नवलपरासी,२४ फागुन

प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री एवं नवलपरासी (पश्चिम) क्षेत्र नं. २ का उम्मेदवार ध्रुब बहादुर प्रधानले निर्वाचन परिणाम स्वीकार गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन्।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गराएकोमा राज्यका सम्पूर्ण संयन्त्रप्रति धन्यवाद व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियामा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन्।

प्रधानले नवलपरासी पश्चिमका दुई नगरपालिका र दुई गाउँपालिकाका ४० वटै वडाका मतदाताले हलो चिन्हमा विश्वास गरेर दिएको मतप्रति कृतज्ञता व्यक्त गर्दै निर्वाचन परिणाम स्वीकार गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरेका छन्।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउँदै आएको सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पुनःस्थापनाको एजेन्डामा आफू अडिग रहेको पनि स्पष्ट पारेका छन्। साथै सामाजिक सेवा र जिल्लाको विकासका लागि आगामी दिनमा पनि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानले युवापुस्तालाई राष्ट्रको भविष्यको आधार भन्दै देशभर देखिएको परिवर्तनको लहरले दिगो विकास र दिगो शान्तिसहित समुन्नत नेपाल निर्माण होस् भन्ने कामना गरेका छन्।
निर्वाचनका क्रममा अहोरात्र खटिएका पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूलाई धन्यवाद दिँदै उनले राप्रपाको मूल एजेन्डा राष्ट्रवाद, सुशासन र राष्ट्रिय हितमा केन्द्रित रहेको बताएका छन्।

विज्ञप्तिको अन्त्यमा उनले नवलपरासीबाट विजयी भएका उम्मेदवार तथा दललाई सफल कार्यकालको शुभकामना दिँदै बाँकी जीवन पनि जिल्लाको विकास र समृद्धिका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित