Rashtriya Dainik

विनयी त्रिवेणीमा कांग्रेसको घरदैलो तीव्र: ओमबहादुर घर्ती मगरले युवालाई केन्द्रमा राख्दै मत मागे

आरपि उपाध्याय / नवलपरासी,१८ फागुन

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस ले विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरूमा कोणसभा सहितको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार ओमबहादुर घर्ती मगरले वडा नं. ६ र ७ का आधा दर्जन स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको हो। विनयी त्रिवेणी–७ को विष्णुनगर, बनकट्टी, ठट्टीयाखोला टोल, रानीनगर बजार तथा वडा नं. ६ को प्रसैया, साहुमारा, त्रिवेणी बजार र केवलानी लगायत क्षेत्रमा कार्यक्रम गरिएको थियो।

उम्मेदवार घर्ती मगरले कांग्रेसले यसपटक युवा वर्गलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएको उल्लेख गर्दै परिणाममुखी बनाउन मतदाताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले यो निर्वाचन “देश सपार्ने र देशलाई अन्धकारमा राख्ने शक्तिबीचको प्रतिस्पर्धा” भएको दाबी गर्दै देशलाई सही दिशामा लैजान कांग्रेसलाई मत दिन आग्रह गर्नुभयो।

उहाँका अनुसार कांग्रेस विगतका अधुरा विकास निर्माण कार्यलाई पूर्णता दिने अभियानसहित जनताको बीचमा आएको छ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश का महामन्त्री विष्णुप्रसाद लामिछानेले वर्तमान अवस्थामा मुलुक अप्ठ्यारो मोडमा रहेको उल्लेख गर्दै निकास र विकासका लागि कांग्रेसको पक्षमा मतदान आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले कांग्रेस पुरानो पार्टी भए पनि पछिल्लो नेतृत्व नयाँ पुस्ताबाट आएको भन्दै पार्टी रुपान्तरणको दिशामा अघि बढेको जिकिर गर्नुभयो।
महामन्त्री लामिछानेले जेन–जी आन्दोलनलाई सम्बोधन गर्ने पार्टी पनि कांग्रेस नै रहेको दाबी गर्दै देशको सर्वाङ्गीण विकास र संविधानको रक्षा गर्ने दायित्व कांग्रेसकै काँधमा रहेको स्पष्ट पार्नुभयो।
कोणसभामा महिला नेतृ तथा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, प्रचारप्रसार समितिका संयोजक गोपालबहादुर क्षेत्री, अक्षय थापा लगायतले स्थानीय समस्या र निर्वाचन गतिविधिबारे धारणा राख्नुभएको थियो। कार्यक्रम नेपाली कांग्रेस विनयी त्रिवेणीका उपाध्यक्ष प्रकाश कुँवरले सञ्चालन गर्नुभएको थियो।


यसैबीच, कोणसभाका अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब डेढ दर्जन व्यक्ति कांग्रेसमा प्रवेश गरेको वडा नं. ६ का उपसभापति अचल कुमार जोशीले जानकारी दिनुभयो।
नवप्रवेशी युवा केशव गौतमले पार्टीमा पछिल्लो समय देखिएको परिवर्तन र नेतृत्वप्रतिको विश्वासका कारण आफूहरू कांग्रेसमा आवद्ध भएको प्रतिक्रिया दिनुभयो।
स्थानीय तहमा कांग्रेसको सक्रियता बढेसँगै विनयी त्रिवेणी क्षेत्रमा चुनावी माहोल थप तातेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित