Rashtriya Dainik

नवलपरासीमा दुर्घनामा परी निर्वाचन प्रहरीकाे मृत्युु

राष्ट्रिय दैनिक / नवलपरासी ,१७ फागुन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका –७ उजैनि स्थित महेशपुर–परासी सडकखण्डमा आइतबार साँझ करिब ६:४० बजे भएको सवारी दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको UP 57 BY 4534 नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको लु ३३ प १६४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकल अनियन्त्रित भई सोही दिशाबाट आउँदै गरेको साइकलमा समेत ठोक्किँदा दुर्घटना थप भयावह बनेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सरावल गाउँपालिका–२ मनरीका १९ वर्षीय निर्वाचन प्रहरी सुरज चमार गम्भीर घाइते भएका थिए। टाउको, कम्मर र दाहिने खुट्टामा गम्भीर चोट लागेका उनलाई उपचारका क्रममा १९:०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ।
त्यसैगरी मोटरसाइकल चालक सुनवल नगरपालिका–९ फरौलीका १८ वर्षीय राज अली अन्सारीको बाँया खुट्टा फ्र्याक्चर भएको छ। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित अस्पतालमा रिफर गरिएको छ र उपचार जारी रहेको छ।

साइकल यात्री ६० वर्षीय बल्ली राठौरको टाउको र दाहिने हातमा चोट लागेको थियो। उनको अवस्था मध्यम रहेको र उपचारपछि साँझ ८:३० बजे डिस्चार्ज गरिएको जनाइएको छ।

दुर्घटनामा संलग्न कार, मोटरसाइकल र साइकलसहित कार चालक भारत कुशीनगर जिल्ला, कप्तानगंजका २३ वर्षीय अब्दुल हफिजलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी बिट उजैनि र जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित