Rashtriya Dainik

छिपहरमाईमा रास्वपा उम्मेदवार टेकबहादुर शाक्यको घरदैलो सम्पन्न, ‘घण्टी’ चिन्हमा मतदान गर्न अपिल

राजन कुमार बानिया /पर्सा, १७ फागुन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले भ्रष्टाचार र कुशासन अन्त्य गर्दै विधिको शासन स्थापना गर्न ‘घण्टी’ चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
छिपहरमाई गाउँपालिकाको भिस्वा, जयमंगलापुर, झलमहिया र बुढगाईलगायत टोल–टोलमा घरदैलो अभियान सञ्चालन गर्दै शाक्यले विगत चार दशकदेखि चल्दै आएको राजनीतिक चक्रव्यूह तोडेर नयाँ नेपाल निर्माण गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताए। जनताको उत्साहजनक सहभागिता र सहयोगले जित सुनिश्चित देखिएको उनको दाबी छ।
“पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद र मन्त्रीहरूले अपेक्षित ध्यान नदिँदा जिल्लाको विकास हुन सकेन,” शाक्यले भने, “शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था अत्यन्त जीर्ण छ, बेरोजगारीको समस्या गम्भीर छ।” उनले अघिल्ला प्रतिनिधिहरूले जनहितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप समेत लगाए।
निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठूला विकास योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बेरोजगारी समाधानलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने बताए। स्थानीय तहदेखि संघीय तहसम्म समन्वय गरी योजनाबद्ध विकास अघि बढाइने उनको भनाइ थियो।
कृषि क्षेत्रका समस्याबारे बोल्दै उनले किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्ने तथा युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरे। “युवाले गाउँमै काम पाए वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनले थपे।
घरदैलोका क्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीमा सुधार नभएको गुनासो गरेका थिए। जवाफमा शाक्यले जनताको आवाज संसद्मा पुर्‍याउने र विकासमा ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।
कार्यक्रममा सहभागी युवाहरूले परिवर्तनको आवश्यकता औँल्याउँदै रास्वपाप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका थिए। ज्येष्ठ नागरिक र महिलाहरूले पनि यस पटक सोचेर मतदान गर्ने र सुशासन तथा जवाफदेहितालाई प्राथमिकता दिने बताएका छन्। उत्साहजनक सहभागिताले रास्वपाको जित सुनिश्चित देखिएको अभियान टोलीको दाबी छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित